शिक्षा सुधारको मागसहित अखिल (क्रान्तिकारी) को शैक्षिक हड्तालको आह्वान, भोलि १ दिन सबै विद्यालय बन्द गर्न अपिल

कञ्चनपुर । नेपालमा शिक्षा सुधारको माग गर्दै लामो समयदेखि संघर्षरत अखिल (क्रान्तिकारी) ले देशव्यापी चरणबद्ध आन्दोलन अन्तर्गत २०८२ साउन २ गतेका लागि एकदिने शैक्षिक हड्तालको कार्यक्रम घोषणा गरेको छ । संगठनले कञ्चनपुर जिल्लाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द गर्न आग्रह गर्दै सबैमा सहकार्यको अपिल गरेको छ ।

क्रान्तिकारी विद्यार्थी संगठनले शिक्षामा व्यापारीकरण र निजीकरणको अन्त्य गर्दै निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणालीको स्थापनाका लागि जनपक्षीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै आएको छ । संगठनका अनुसार अहिले देशमा अझै पनि २०२८ सालको पञ्चायती शिक्षा ऐन लागू छ, जसले आम नागरिकको पहुँचबाट शिक्षालाई टाढा बनाइरहेको छ ।

संगठनद्वारा जारी अपिलमा भनिएको छ, “शिक्षा सबै नागरिकको मौलिक हक हो भन्ने संविधानको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनु पर्नेमा सरकार उल्टै नवउदारवादी नीतिको मार्फत शिक्षालाई व्यापारिक थलो बनाउँदैछ, जुन आम नेपाली विद्यार्थीले कुनै हालतमा स्वीकार गर्न सक्दैनन् ।”

शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै संगठनले शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि शिक्षक र कर्मचारीका समस्या समाधान अनिवार्य रहेको स्पष्ट पारेको छ ।

हड्तालको दिन शिक्षण संस्था सञ्चालन गरेमा संगठनले आवश्यक कारबाही गर्न सक्ने चेतावनीसमेत दिँदै सो अवस्थाबाट हुने कुनै पनि क्षति वा दुर्घटनाको जिम्मेवारी सम्बन्धित संस्थाले स्वयं लिनु पर्ने उल्लेख गरिएको छ ।

यसअघि पनि अखिल (क्रान्तिकारी) ले शिक्षा क्षेत्रको व्यापारीकरणविरुद्ध निरन्तर दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालको आन्दोलन असार २० गतेदेखि सुरु गरिएको चरणबद्ध संघर्ष कार्यक्रमको निरन्तरता भएको संगठनले स्पष्ट पारेको छ ।

संगठनले शिक्षा नीति जनपक्षीय बनाउन तथा संविधानमा लेखिएको मौलिक हकको यथार्थ कार्यान्वयन सुनिश्चित गर्न राज्यका सबै अंगलाई गम्भीर बन्न समेत आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित