छाउगोठमा सर्पको टोकाइबाट ज्यान गुमाएकी कमलाका परिवारलाई कृष्णपुर नगरपालिकाबाट ५० हजार आर्थिक सहयोग

कञ्चनपुर : छाउगोठमा सर्पले टोकेर ज्यान गुमाएकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ।

नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतकका परिवारलाई रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिए। “अहिलेका लागि तत्कालीन राहतस्वरूप ५० हजार रुपैयाँ सहयोग गरिएको हो,” उनले भने, “मृतकका तीन बालबालिकाको शिक्षासम्बन्धी विषयमा पनि छलफल गरी थप सहयोगबारे निर्णय गरिनेछ।”

नगरप्रमुख ओझाले समाजमा अझै पनि कायम रहेको कुप्रथाले महिलाहरूको अकालमै ज्यान जाने अवस्था दुःखद भएको बताउँदै छाउगोठ भत्काउने अभियान सुरु भइसकेको जानकारी गराए । “महिनावारी भएका महिलालाई सुरक्षित रूपमा बस्न मिल्ने वातावरण निर्माण गर्न जनचेतनामूलक अभियान पनि थालिएको छ,” उनले भने।

पालिकाले अब छाउगोठ नहटाउनेहरूलाई सामाजिक सुरक्षाभत्तालगायत सुविधा रोक्ने निर्णय समेत गरेको छ। साथै, प्रशासनसँग समन्वय गरेर यस्ता परिवारलाई विद्युत् सेवाबाट वञ्चित गर्ने तयारी भइरहेको समेत ओझाले बताए।

गत शनिबार कृष्णपुर–१ निगालीमा महिनावारी भएका कारण छाउगोठमा बसिरहेकी कमला दमाईंको सर्पको टोकाइबाट मृत्यु भएको थियो। घटनाले पुनः महिनावारीका बेला महिलामाथि हुने विभेद र जोखिमपूर्ण अभ्यासको भयावह स्थिति उजागर गरेको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित