बेलडाँडी । बेलडाँडी गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको पहुँच, गुणस्तर र व्यवस्थापन सुधारका लागि “निःशुल्क शिक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२” सार्वजनिक गरेको छ ।
गाउँ कार्यपालिकाले मिति २०८२ साल असार ३२ गते स्वीकृत गरेको यो कार्यविधि शुक्रवार सार्वजनिक गरिएको हो । कार्यविधिको उद्देश्य गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा तहगत र विषयगत शिक्षक अभावका कारण पठनपाठनमा आउने समस्यालाई न्युनिकरण गर्नु तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु रहेको छ ।
नेपालको संविधान, २०७२ को धारा २२६ (१) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) ले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले सो कार्यविधि सार्वजनिक गरेको हो । छ परिच्छेदमा विभाजित कार्यविधिमा शिक्षक व्यवस्थापनदेखि सेवाशर्त र अनुदानसम्मका विषय समेटिएका छन् ।
परिच्छेद १ः प्रारम्भिक व्यवस्था, परिच्छेद २ः शिक्षक व्यवस्थापन, मापदण्ड, कोटा निर्धारण तथा वितरण, परिच्छेद ३ः शिक्षकको विज्ञापन तथा पदपूर्ति प्रक्रिया, परिच्छेद ४ः शिक्षकको सेवाशर्त र सुविधा, परिच्छेद ५ः विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान, परिच्छेद ६ः विविध व्यवस्था भएका परिच्छेद रहेका छन् ।
गाउँपालिकाका अनुसार, यो कार्यविधिले विद्यालयमा आवश्यक संख्यामा शिक्षक उपलब्ध गराउने, पदपूर्ति प्रक्रिया पारदर्शी बनाउने र विद्यालय सञ्चालनमा सहजीकरण गर्ने लक्ष्य लिएको छ ।
शैक्षिक सरोकारवाला र विद्यालय प्रशासनहरूले कार्यविधिलाई सकारात्मक रूपमा लिँदै विद्यालयहरूमा शिक्षक अभावको समस्या समाधान भई सिकाइको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि नीति तथा कार्यक्रममै जोड दिँदै आएको छ । नीतिगत संरचना निर्माणसँगै व्यवहारिक कार्यान्वयनमा देखिएको यो प्रतिबद्धता शिक्षा सुधारको दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
कार्यविधि
सामुदायिक विद्यालयमा निशुल्क शिक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२_0



















Discussion about this post