बेलडाँडी । समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत बेलडाँडी गाउँपालिकामा सञ्चालित विविध गतिविधिहरुको संयुक्त अनुगमन आज (मंगलवार) सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथको अध्यक्षतामा सम्पन्न अर्धवार्षिक पालिका स्तरीय संयुक्त अनुगमनमा युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) को साझेदारीमा सञ्चालित परियोजनाका गतिविधिहरूको समिक्षा गरिएको हो ।
शिक्षा क्षेत्रमा नागरिक समाजको प्रभावकारी सहभागिता सुनिश्चित गर्दै सबैका लागि गुणस्तरीय र समावेशी शिक्षा प्रवाह गर्ने उद्देश्यसहित उक्त परियोजना लागू गरिएको हो । परियोजनाले विशेष गरी असक्त, दलित, विपन्न तथा शोषित समुदायका बालबालिकालाई शिक्षाको मूल धारमा ल्याउने कामलाई प्राथमिकता दिँदै आएको छ ।
अनुगमनका क्रममा पुष महिनादेखि साउन १३ गतेसम्म भएका विभिन्न शैक्षिक, सामाजिक तथा अभिमुखीकरणमूलक क्रियाकलापहरूको अवलोकन गरिएको थियो । परियोजना अन्तर्गत असक्त बालबालिकाहरूका लागि ‘घरमै विद्यालय’ कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट विगतमा सार्वजनिक स्थानमा समेत बस्न नचाहने बालबालिकाहरू अहिले आत्मविश्वाससहित सिकाइ प्रक्रियामा सहभागी हुन थालेका छन् ।
सरस्वती जनता माध्यमिक विद्यालयले समावेशी तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा उल्लेखनीय काम गरेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । विद्यालयमा बालमैत्री, समावेशी र सिकाइमैत्री वातावरण विकास गर्न चालिएका कदमहरूको सकारात्मक प्रभाव देखिएको बताइएको छ ।
परियोजनाको अर्को महत्वपूर्ण अङ्गका रूपमा ‘वडा स्तरीय अभिभावक दौतरी समूह’ ले घरेलु हिंसाविरुद्ध सामूहिक छलफल तथा चेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन् । समूहले महिलामाथि हुने हिंसा, सामाजिक कुरीति, छाउपडी प्रथा लगायतका विषयमा समुदायस्तरीय चौतारी छलफल चलाउँदै समाधानमुखी सोच विकास गर्न भूमिका खेलेका छन् ।
परियोजना लागू भएदेखि बेलडाँडीमा विविध कार्यक्रम सञ्चालन गरिएको परियोजना प्रवन्धक विशन देव जोशीले जानकारी दिए । उनका अनुसार वडा स्तरीय व्यक्तिगत सहायता सामग्री सिफारिश समिति गठन, नागरिक समाज संस्था दौतरीको वार्षिक कार्यशाला गोष्ठी, घरमै विद्यालय केन्द्रहरूमा फिजियोथेरापिस्ट र पि.एण्ड.ओ. टोलीद्वारा स्वास्थ्य जाँच, अपाङ्गता पहिचान सम्बन्धी तालिम, नमुना विद्यालय छनौट बैठक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स), पिटिए तथा प्रअलाई लक्षित तालिम, बाल कचहरी अन्तरक्रिया, बजेट तर्जुमा सम्बन्धी छलफल लगायतका कार्यक्रमहरू सम्पन्न गरिएका छन् ।
त्यस्तै पालिका स्तरमा रहेको नागरिक समाज संस्था कञ्चन सामुदायीक विकास केन्द्रले अपाङ्गता भएका बालबालिका, दलित तथा विपन्न परिवारका अभिभावकहरूसँग जनचेतनामूलक सत्र, समाजमा छाउपडी प्रथाको अन्त्यका लागि अभिभावक दौतरी समूहमार्फत सचेतना कार्यक्रम, विद्यालय बाहिर रहेका बालबालिकाको पुनः भर्ना कार्यक्रम समेत प्रभावकारी रूपमा सञ्चालन गरेको जनाइएको छ ।
कार्यक्रममा बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐर, वडा नं. ३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, वडा नं. ४ का अध्यक्ष वीर बहादुर खडका, शिक्षा शाखा अधिकृत लोकन्द्र बहादुर शाही, एनएनएसडब्लुए की अध्यक्ष माया सार्की, परियोजना प्रवन्धक विशन देव जोशी, महिला शाखा प्रतिनिधि कमला रेग्मी, परियोजना शिक्षा अधिकृत ऋषिकेश जैरु, कञ्चन सामुदायिक विकास केन्द्रकी प्रवन्धक गीता रानाक्षेत्री, रासस प्रतिनिधि महादेव अवस्थी लगायत साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
अनुगमनमा सहभागी सरोकारवालाहरूले समावेशी तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धन र घरेलु हिंसा विरुद्धको सचेतना अभियानबाट समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
परियोजनाबाट बालबालिका मात्र होइन, अभिभावक, शिक्षक, नागरिक समाजका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सम्पूर्ण समुदाय नै सचेत र सहभागी हुँदै जानु बेलडाँडीका लागि उज्यालो भविष्यतर्फको संकेत हो भन्ने आम धारणा रहेको देखिएको छ ।























Discussion about this post