रौतहटमा रुबी साह हत्या प्रकरणः प्रमुख आरोपी लक्ष्मण पासवानको आत्मदाह प्रयासअघि रेकर्ड गरिएको भिडियो सार्वजनिक

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गर्दै घटनाको मूल दोषी रुबीकी आमा रहेको आरोप लगाएका छन्।

माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका पासवानलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न सेन्टर रेफर गरेको छ।

भिडियोमा पासवानले रुबीसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र उनीहरूले सर्लाही जिल्ला अदालत तथा भारतको सीतामढीस्थित अदालतमा विवाहसमेत गरेको खुलासा गरेका छन्। तर दुवै परिवारले सम्बन्ध अस्वीकार गरेपछि समस्या बढेको उनले बताएका छन्।

उनले रुबीकी आमामाथि पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य व्यक्तिसँग सम्बन्ध राख्न लगाएको गम्भीर आरोप पनि लगाएका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष भएको भन्दै उनलाई दोष नदिन आग्रह गरेका छन्।

गत शनिबार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार रहेका थिए। आत्मदाह अघि उनले भिडियोमार्फत आफू र रुबीबीच लामो कुराकानी भएको र अन्ततः दुवैले मर्ने निर्णयसम्म पुगेको बताएका छन्।

“रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्।

हाल गम्भीर घाइते अवस्थामा रहेका पासवानको कीर्तिपुर बर्न सेन्टरमा प्रहरी निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित