कञ्चनपुरमा बर्ड फ्लु सतर्कता : बेलडाँडी-बेलौरीमा सचेतना कार्यक्रम

बेलडाँडी । भारतको सीमावर्ती क्षेत्रमा बर्ड फ्लु संक्रमण देखिएपछि कञ्चनपुर जिल्लामा उच्च सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको बर्ड फ्लु नियन्त्रण समितिले संक्रमण जिल्लाभित्र पस्न नदिन किसान, व्यापारी र स्थानीयवासीलाई सचेत बनाउने अभियान सुरु गरेको हो ।

यही अभियानअन्तर्गत बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बिहीबार बर्ड फ्लु रोग नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा किसान, आपूर्तिकर्ता, जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया गर्दै रोगको लक्षण, फैलिने तरिका र बच्ने उपायबारे जानकारी दिइएको थियो ।

भारतीय सञ्चारमाध्यममा सीमावर्ती उद्यमसिंहनगर र बागेश्वर क्षेत्रमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि कञ्चनपुरलाई उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ । पुनर्वास, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनी तथा भीमदत्त नगरपालिकाका संवेदनशील वडामा सचेतना फैलाउन टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरका अनुसार बर्ड फ्लु एक भाइरसजन्य रोग हो, जुन प्रायः कुखुरा, हाँस, बतख र टर्की जस्ता पंक्षीमा फैलिन्छ । संक्रमित पंक्षीसँग नजिक सम्पर्कमा आएका मानिसमा पनि सर्न सक्ने भएकाले सतर्क रहनुपर्ने चेतावनी दिइएको छ ।

बर्ड फ्लुका लक्षण (पंक्षीमा)

  • अचानक मृत्यु दर बढ्नु

  • खाना नखाने, सुस्त हुने

  • पखाला लाग्ने

  • टाउको र घाँटी सुन्निनु

  • अण्डा उत्पादन घट्नु

मानिसमा देखिने लक्षण

  • ज्वरो, टाउको र घाँटी दुखाइ

  • खोकी र सास फेर्न गाह्रो हुने

  • कहिलेकाहीँ निमोनियाजस्तो गम्भीर अवस्था देखिन सक्ने

फैलिने तरिका
संक्रमित पंक्षीको लाह, पखाना, नाक–मुखको रस वा पंखबाट, सफा नगरिएका खोर वा संक्रमित मासु–अण्डा सम्हिँदा संक्रमण हुने गरेको विज्ञहरूले बताए । मानिसबाट मानिसमा फैलिने सम्भावना न्यून भए पनि असम्भव भने नभएको जानकारी दिइएको छ ।

बच्ने उपाय

  • कुखुरापालनमा सरसफाइमा ध्यान दिनु

  • बिरामी वा मरेका पंक्षीलाई सुरक्षित तरिकाले नष्ट गर्नु

  • मासु र अण्डा राम्ररी पकाएर मात्र खाने

  • खोर सफा गर्दा पञ्जा, मास्क र जुत्ता प्रयोग गर्ने

  • लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने

कार्यक्रमका वक्ताहरूले बर्ड फ्लु जस्तो जोखिमपूर्ण रोगलाई सामान्य नठान्न आग्रह गर्दै सर्तकता अपनाए संक्रमण नियन्त्रण गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित