बेलडाँडी । बेलडाँडी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर सेवा निवृत्तिमा गएपछि पालिकाले उनलाई आज बिहिवार भव्य समारोहबीच विदाई गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत ऐरलाई गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले केक खुवाउँदै दोसल्ला ओढाएर सम्मानसहित विदाई गरे । कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । ऐरकै जन्मदिनको अवसर पनि परेको दिन भएकाले विदाईलाई झनै विशेष बनाइएको थियो ।
करीब डेढ वर्षको कार्यकालमा बेलडाँडी गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका ऐरको कार्यशैली सर्वत्र प्रशंसित बनेको छ । मिलनसार स्वभाव, नियमअनुसार काम गर्ने शैली र सबैलाई समेट्ने नेतृत्व क्षमताका कारण उनी जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीबीच लोकप्रिय बनेका थिए ।
उनको विदाइ कार्यक्रममा बाजागाजासहितको र्याली निकालिएको थियो । स्थानीयवासी र शुभचिन्तकहरूले स्वस्फूर्त रूपमा बाजा बजाउँदै ऐरलाई विदाई गर्दा माहोल भावुक बनेको सहभागीहरूले बताए ।
गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले ऐरले आफ्नो कार्यकालमा पारदर्शिता, जिम्मेवारी र अनुशासनलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरे । “उहाँको योगदान स्मरणीय रहनेछ, उहाँको आगामी जीवन सुखमय र सफल होस् भन्ने हाम्रो शुभकामना छ,” अध्यक्ष रानाले भने ।
यसैबीच, बेलडाँडी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रामकिशन विकले सम्हाल्ने भएका छन् । विकलाई स्वागत गर्ने कार्यक्रम भोलि शुक्रबार हुने पालिका स्रोतले जनाएको छ ।





















Discussion about this post