बझाङ । मस्टा गाउँपालिका–१ रनाडास्थित माइतिबन निम्न माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक ध्रुवबहादुर रोकायामाथि आइतबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको छ।
खुकुरी प्रहारबाट रोकायाको दायाँ कानको भागमा गम्भीर चोट लागेपछि उनलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो। तर स्वास्थ्य अवस्था जटिल भएपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि धनगढी रिफर गरिएको परिवारले जनाएको छ। रोकायाको स्थायी घर खप्तडछान्ना–३ सिप्टिकोटमा पर्छ।
घाइते रोकायाले घटनाबारे दिएको प्रारम्भिक बयानअनुसार, दुई–तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले दुई हजार रुपैयाँ माग गरेका थिए। रकम नदिएपछि धारिलो हतियार प्रहार गरी उनीहरू फरार भएको शिक्षक रोकायाको भनाइ छ।
यसबीच, पछिल्ला दिनमा चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयवासीले यस किसिमका घटनामा संगठित समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। स्थानीय प्रशासनले भने घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।























Discussion about this post