काठमाडौं । सोमबार राजधानीमा भएको जेन जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा उपचाररत चार जनाले ज्यान गुमाएका हुन् ।
सभी मृतकहरूलाई प्रहरीको रबरको गोली लागेर गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको हो ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा शान्तिपूर्ण सुरू भएको प्रदर्शनलाई रोक्ने क्रममा सरकारले दमन मात्र रोजेपछि आन्दोलन अझै हिंसात्मक र रगतपातपूर्ण बनेको छ । सुरक्षाकर्मीको बल प्रयोगले सरकारको कमजोरी र असफलता मात्रै उजागर भएको आन्दोलनकारीहरूको आरोप छ । “आवाज सुन्ने हैसियत नभएकाले सरकारले गोली मात्र चलायो,” एक प्रदर्शनकारीले घटनास्थलमै भनिरहेका थिए ।
दिउँसो साढे १२ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । तर, कफ्र्यूबीच पनि आन्दोलन रोकिएको छैन । नयाँ बानेश्वर क्षेत्र अहिले पनि तनावग्रस्त छ ।
सिभिल र ट्रमा सेन्टरमा मात्रै दर्जनौँ घाइते ल्याइएको छ भने विभिन्न अस्पतालमा थप घाइते उपचाररत छन् । तर, घाइतेहरूको वास्तविक संख्या यकिन भइसकेको छैन ।
मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले सरकारको कदमलाई “जनताको आवाज दबाउने लाचारी दमन” भनेर व्याख्या गरेका छन् । उनीहरूका अनुसार शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गरेर नियन्त्रण गर्ने प्रयासले जनआन्दोलन अझ व्यापक बन्ने संकेत देखिएको छ ।























Discussion about this post