जेन जी आन्दोलन : भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा बग्यो रगतको खोला

काठमाडौं । राजधानीमा भइरहेको जेन जी पुस्ताको आन्दोलनले सोमबार दिउँसोसम्म ९ जनाको ज्यान लिएको छ ।

विभिन्न अस्पतालहरूबाट प्राप्त विवरणअनुसार दिउँसो साढे ३ बजेसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ गरी ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा शान्तिपूर्ण ढंगले सुरू भएको आन्दोलन दमन गर्न सरकारले गोली बर्साएपछि काठमाडौंमा रगतको खोला बगेको छ । सडकमा भागदौड, अस्पतालमा रुवाबासी र सर्वसाधारणको आँखामा त्रास देखिन थालेको छ ।

घाइते बोकेर अस्पताल धाउने साथीहरूको आँसु, इमरजेन्सी कक्षमा कराउँदै गरेका आमाबुबा र बेडमा पल्टिएका युवाहरूको तस्बिरले आन्दोलनको पीडा झनै मार्मिक बनाएको छ ।

जनताको आवाज सुन्नुको सट्टा सरकारले दमनको बाटो रोजेको भन्दै आन्दोलनकारी आक्रोशित बनेका छन् । सामाजिक सञ्जाल बन्द गरेर आफ्ना कमी–कमजोरी लुकाउने सरकारको प्रयास उल्टै विफल भएको आरोप आम नेपालीले लगाइरहेका छन् ।

“रगतले पोषिएका सत्यलाई कसरी छोप्ने? सरकार चुप लागेर बस्न सक्छ, तर इतिहासले यो बलिदान सम्झिरहन्छ,” आन्दोलनमा सहभागी एक युवाले भावुक हुँदै भनेका छन् ।

मृतकको संख्या बढेसँगै राजधानीमा तनाव अझै चर्किँदै गएको छ । आन्दोलनकारीले यो बलिदानलाई न्याय, पारदर्शिता र स्वतन्त्रताको संघर्षको प्रतीकका रूपमा अगाडि बढाउने प्रतिज्ञा गरेका छन् ।

काठमाडौं अहिले बन्दुकको धुवाँ र आँसुमा ढाकिएको छ, तर सडकमा उत्रिएका युवाहरू भन्छन् , “हाम्रो आवाज अब दबिँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित