काठमाडौं । काठमाडौं लगायत देशभरका सडकहरूमा अहिले नेपाली सेनाले समेत गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति र भौतिक संरचनामा क्षति पुगेसँगै राति १० बजेदेखि सेनालगायत सुरक्षाकर्मीहरू परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणलाई विना काम बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्न चिकित्सक, पत्रकार, सुरक्षा सम्बन्धी अन्य निकायका व्यक्तिहरूलाई भने परिचयपत्रका आधारमा आवतजावतको सुविधा दिइएको छ ।
आन्दोलनकारीले आगजनी गरेको संसद भवनसहित संवैधानिक निकायहरूमा सेना परिचालन गरिएको छ । यस्तै, अन्य सरकारी कार्यालयहरूमा समेत सुरक्षाकर्मीहरूको उपस्थिति देखिन थालेको छ ।
जेनजी आन्दोलन सफल भएको भन्दै सर्वसाधारणमा उत्साह देखिएको छ । तर आन्दोलनभित्र घुसपैठका कारण केही स्थानमा उश्रृंखल गतिविधि सुरु भएपछि चिन्ता बढेको हो ।
यसबीच नेपाली सेनाले संयमता अपनाउन सबैलाई अपील गर्दै आएको छ । “यो आन्दोलन शासकहरूको अहंकारविरुद्ध भएको हो, तर यसलाई अराजकताको दिशातर्फ धकेल्न नदिनु सबैको जिम्मेवारी हो । नयाँ नेपाल निर्माणका लागि अव सबैले संयमित हुन आवश्यक छ ।”




















Discussion about this post