बिहीबार अन्तरिम सरकार गठनबारेको छलफल निष्कर्षविहीन, आज बिहान ९ बजे पुनः बैठक बस्ने

काठमाडौँ। शीतल निवासमा बिहीबारदेखि सुरु भएको अन्तरिम सरकार गठनबारेको उच्चस्तरीय बैठक निष्कर्षमा पुग्न नसकी स्थगित भएको छ। बैठक आज शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी सारिएको हो।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठूला दल र राष्ट्रपतिबीच सहमति भए पनि संविधानले तोकेको प्रावधानले चुनौती थपेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी भएको बैठक शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो। तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठक स्थगित भएको हो।

बैठकको मूल एजेन्डा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने उपाय खोज्ने थियो। तर संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानले सहमति बाधित बनाएको सहभागी स्रोतले जनाएको छ।

यसबीच, जेन-जी आन्दोलनका युवाहरूले संसद् विघटनको मुद्दा उठाउँदै दबाब बढाएका छन्।

राष्ट्रपति पौडेलले बिहीबार संविधानको धारा ६१(४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने–नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य र विपिन अधिकारीलगायतसँग परामर्श समेत लिएका थिए।

 सबैको ध्यान अब आज बिहान हुने बैठकतर्फ मोडिएको छ, जहाँ अन्तरिम सरकार गठनको संवैधानिक बाटोबारे निर्णायक टुंगो लाग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित