कञ्चनपुरका दलहरूद्वारा अराजक घुसपैठप्रति खेद, सत्यतथ्य छानबिन र कानुनी कारबाहीको माग

कञ्चनपुर । भाद्र २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न राजनीतिक दलका नेताहरूले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै आन्दोलनका क्रममा घाइते भएकाहरुप्रति चासो जनाउँदै उनीहरूको निशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई जोडदार माग गरिएको छ।

नेताहरूले भाद्र २३ र २४ गते दुई दिनमा भएका घटनापछि मुलुकलाई शान्ति, स्थिरता र पुनर्निर्माणतर्फ अघि बढाउन सबै पक्ष संयमित र एकताबद्ध भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्। मुलुकको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीलाई नयाँ ढंगले सुनिश्चित गर्ने दायित्वमा सबै गम्भीर बन्नुपर्ने धारणा उनीहरूले सार्वजनिक गरेका छन्।

“यो विषम परिस्थितिमा सम्माननीय राष्ट्रपति ज्युबाट सुरु गरिएको पहल स्वागतयोग्य छ,” नेताहरूको भनाइमा भनिएको छ, “संवाद र परामर्शमार्फत नै समाधान खोज्नुपर्छ। त्यसका लागि नागरिक समाज, सञ्चार जगत र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य हुन्छ।”

नेताहरूले नेपाली सेना सहितका सुरक्षा निकायहरूले शान्ति र सुरक्षा कायम गर्न गरिरहेको प्रयासलाई सराहना गर्दै जेनजी पुस्ताको भावना बमोजिम संवाद प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै पक्षलाई आग्रह गरेका छन्। उनीहरूले संविधानसम्मत र वैधानिक बाटोबाटै लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्न सबैलाई आह्वानसमेत गरेका छन्।

यसैबीच, जेनजी आन्दोलनको भावना विपरीत केही अराजक समूहले घुसपैठ गरी सरकारी तथा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गरेको घटनाप्रति नेताहरूले खेद प्रकट गरेका छन्। उनीहरूले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायलाई अनुरोध गरेका छन्।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने कञ्चनपुरका नेताहरूमा नेकपा एकीकृत समाजवादीका देवदत्त जोशी, नेकपा (माओवादी केन्द्र) का आनन्दसिंह धामी, नेकपा (एमाले) का जनकराज अवस्थी र नेपाली कांग्रेसका मिनबहादुर सिंह रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित