काठमाडौँ । नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति थियो ।
पहिलो महिला प्रधानमन्त्रीको इतिहास
नेपालको न्यायिक इतिहासमा करिब १० वर्षअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की अहिले अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । प्रजातन्त्र आएको ७५ वर्षमा पहिलोपटक प्रधानमन्त्री बनेकी उनले न्यायालय स्थापना भएको ६५ वर्षपछि महिला प्रधानन्यायाधीश बनेरै नयाँ इतिहास रचिसकेकी थिइन् ।
भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भर्चुअल मतदानमार्फत आन्दोलनकारीहरूले उनलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेका थिए । आन्दोलनकै समयमा उनी प्रदर्शनस्थल बानेश्वर पुगेकी थिइन् र अस्पतालमा घाइतेहरुलाई भेटेर ऐक्यबद्धता जनाएकी थिइन् ।
जीवन यात्रा : वकिलदेखि प्रधानमन्त्रीसम्म
२००९ साल जेठ २५ गते मोरङको विराटनगरस्थित शंखपुरमा जन्मिएकी सुशीलाको बाल्यकालदेखि नै कोइराला परिवारसँग नजिकको सम्बन्ध रहेको थियो । उनले नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक सेनानी दुर्गा सुवेदीसँग विवाह गरेकी हुन् ।
-
शिक्षा :
-
महेन्द्र मोरङ क्याम्पसबाट बीए (२०२८ साल)
-
बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए (२०३१ साल)
-
त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक (२०३४ साल)
-
उनी २०४२–२०४६ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्राध्यापनमा रहिन् । २०३५ सालदेखि वकालत सुरु गरेकी उनले विराटनगर पुनरावेदन अदालत बार अध्यक्षको जिम्मेवारी पनि सम्हालिन् ।
२०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भइन्, २०६७ सालमा स्थायी न्यायाधीश र २०७३ सालमा नेपालकै पहिलो महिला प्रधानन्यायाधीश नियुक्त भइन् ।
चर्चित मुद्दा र महाभियोगको अनुभव
न्यायाधीशका रूपमा उनले भ्रष्टाचार मुद्दामा साहसिक फैसला गर्दै नेता जयप्रकाश गुप्तालाई दोषी ठहर गरेपछि उनको ख्याति बढेको थियो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दा पुनरावलोकन गर्ने आदेश दिँदै उनले ठूलो सार्वजनिक समर्थन कमाइन् ।
यद्यपि, प्रधानन्यायाधीश रहँदा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा पर्नुपरेको थियो । तर सर्वोच्चकै आदेशपछि महाभियोग निष्प्रभावी ठहर भयो ।
नयाँ युगको सुरुवात
७३ वर्षीया कार्की अब मुलुकको अन्तरिम सरकारको नेतृत्व सम्हाल्दैछिन् । उनका आलोचक र प्रशंसक दुवै भए पनि इमान्दार छविको कारण उनले देशमा नयाँ आशा जगाएको देखिन्छ ।
राप्रपा नेता ज्ञानेन्द्र शाहीले भने, “राष्ट्रले पहिलो महिला प्रधानमन्त्री मात्र पाएको छैन, नयाँ युगको सुरुवात भएको छ । भ्रष्टाचार गर्न सय पटक सोच्नुपर्ने अवस्था आउने पक्का भएको छ । यो उपलब्धि महान युवाहरूको बलिदानले सम्भव भएको हो । हामीले यो बलिदानलाई खेर जान दिन्नौँ । सब मिलेर नयाँ बिहानीको सुरुवात गर्नुपर्छ ।”
यसरी, जेनजी युवाहरूको सिफारिसमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आज नयाँ राजनीतिक यात्राको थालनी गरेकी छन् ।




















Discussion about this post