काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवालाई सरकारले शहीद घोषणा गर्दै परिवारजनलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार पदभार ग्रहणलगत्तै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयका रूपमा यो ऐतिहासिक घोषणामा हस्ताक्षर गर्नुभएको हो।
प्रधानमन्त्रीको पदभार ग्रहण समारोहमा उपस्थित रहेका मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराइने जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ७२ जना युवाले ज्यान गुमाइसकेका छन् भने १९१ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
जेनजी आन्दोलन शान्तिपूर्ण तरिकाले सुरु भए पनि त्यसलाई नियन्त्रण गर्ने क्रममा भएको सुरक्षा निकायको कडा बल प्रयोगले ठूलो मानवीय क्षति बेहोर्नु परेको थियो। आन्दोलनकै चपेटामा परी भविष्य निर्माणको सपना बोकेका सयौँ युवाहरू घाइते भएका छन्।
अन्तरिम सरकारको पहिलो निर्णयलाई देशभरका आम जनताले राहतको सासका रूपमा लिएका छन्। परिवार गुमाएका पीडितले राज्यको यो निर्णयले पीडामा केही मल्हम लगाएको महसुस गराएको बताउँदै जिम्मेवार निकायले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
जेनजी आन्दोलनले नेपाली राजनीतिलाई नयाँ मोडमा ल्याएको छ। पुराना राजनीतिक दलप्रति आक्रोशित नयाँ पुस्ताले गरेको यस आन्दोलनलाई “परिवर्तनको मञ्च” को रूपमा हेरिएको छ। तर, यस आन्दोलनमा गुमिएका ज्यान र घाइते युवाहरूको पीडाले समाजलाई अझै भावुक बनाइरहेको छ।




















Discussion about this post