काठमाडौँ :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमा गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकपछि पत्रकार सम्मेलनमा देउवाको स्वास्थ्यबारे सोधिएका प्रश्नमा विश्वकर्माले सभापति देउवा हाल सैनिक अस्पताल, छाउनीमा उपचाररत रहेको बताए । ‘उहाँ अझै सैनिक अस्पतालमा उपचारका क्रममा हुनुहुन्छ,’ विश्वकर्माले भने, ‘डक्टरको परामर्शअनुसार केही दिन अझै अस्पतालमै बस्नुपर्नेछ ।
उनका अनुसार देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा निवास बुढानीलकण्ठमा आन्दोलनकारीले आक्रमण गर्दा देउवा दम्पत्तिलाई घरबाहिर निकालेर कुटपिट गर्नुका साथै घरमा आगजनी समेत गरेका थिए ।























Discussion about this post