बेलडाँडी । बेलडाँडी गाउँपालिका–४ बैवाहका युवाहरुले आज सोमवारदेखि सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेका छन्।
स्थानीय शिव मन्दिर परिसरमा सुरु गरिएको अभियानमा युवाहरुको सहभागिता रहेको थियो। चाडपर्व नजिकिँदै गर्दा गाउँ फर्किनेको भीडभाड हुने भएकाले मन्दिर तथा सार्वजनिक स्थल सरसफाइ गरिएको जनाइएको छ।
युवा समाजसेवी तथा क्रिकेट खेलाडी खगेन्द्र सिंह महराले “आफ्नो गाउँ आफैं बनाऔं” भन्ने नारालाई व्यवहारमा उतार्नका लागि यो अभियान थालिएको बताए। उहाँले सफा र सुन्दर वडा बनाउन प्रत्येक युवाले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
“यो केवल सुरुवात हो,” महराले भन्नुभयो, “आगामी दिनमा सडक, मन्दिर, पुलपुलेसा लगायतका अन्य सार्वजनिक स्थलमा पनि निरन्तर सरसफाइ अभियान चलाइनेछ। यसका लागि सबै गाउँलेको सहयोग अपरिहार्य छ।”
यस अभियानले गाउँमा सफाइप्रति सचेतना बढाउने मात्र नभई युवाहरुमा सामाजिक उत्तरदायित्व र सहकार्यको भावना थप मजबुत बनाएको छ।






















Discussion about this post