बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका अहिले जेन–जी पुस्ता र कर्मचारी जनप्रतिनिधीबीचको तिक्तताले तनावग्रस्त बनेको छ । आफ्ना माग सम्बोधन नभएको भन्दै जेन–जी पुस्ता र समर्थकहरूले आज बुधवार नगरपालिका कार्यालयको गेटमा कालो ब्यानर र टाउकोमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरे ।
यता, केही समयमै कर्मचारीहरूले संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति जारी गर्दै आन्दोलनकारीले निरन्तर कार्यालयको कार्यसम्पादनमा बाधा पु¥याइरहेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, “कर्मचारीलाई कपोकल्पित आरोप लगाएर मनोबल गिराउने, कार्यालयको वातावरण खल्बल्याउने र दैनिक कार्यसम्पादन असम्भव हुने अवस्था सिर्जना भएकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह तत्काल असम्भव भएको जानकारी गराउँछौँ ।” विज्ञप्तीमा यसबाट नगरवासीलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी भएको उल्लेख गरिएको छ ।
जेन–जी समूहले भने आफूहरूले बारम्बार बेलौरी र बेलौरी जनताको हितको माग राख्दा समेत पालिकाले बेवास्ता गरेको दाबी गर्दै यस अघि अन्तिम चेतावनी दिइसकेका थिए । आईतबार मात्रै नगरपालिकालाई बुझाइएको ज्ञापनपत्रमा तत्काल माग सम्बोधन गर्नुपर्ने पहिलो शर्त राखिएको थियो । तर कार्यान्वयन नदेखिएको भन्दै बाध्य भएर सडक र कार्यालय परिसरमा उत्रिनु परेको उनीहरूको भनाइ छ । “यदि यसपालि पनि मागहरूको बेवास्ता गरियो भने हामी कडा कदम चाल्न बाध्य हुन्छौँ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुनेछ,” जेन–जी समूहले यस भन्दा पहिलै चेतावनी दिइसकेका थिए ।
कर्मचारीहरूका अनुसार, भाद्र २३ र २४ गते देशमा उत्पन्न विषम परिस्थितिपछि अवस्था सामान्य भए पनि बेलौरी नगरपालिकामा भाद्र २९ देखि निरन्तर अराजकता सिर्जना गर्दै कार्यालयमा काम गर्ने बातावरण अप्ठ्यारो बनाइएको आरोप छ । तर जेन–जी पुस्ताले भने यो आरोपलाई अस्वीकार गर्दै, आफूहरूको आन्दोलन पूर्णतः समस्याको समाधानका लागि दबाब स्वरुप भएको बताउदै यसबाट कर्मचारी जनप्रतिनिधी भाग्न खोजेको आरोप लगाए ।
यसरी कर्मचारी र आन्दोलनकारीबीचको रस्साकस्सीका कारण बेलौरी नगरपालिकाको दैनिक सेवा प्रवाह ठप्प भएको छ । स्थानीय बासिन्दा भने अब पालिका र आन्दोलनकारी दुबै पक्षले वार्ता र सहमतिमार्फत समस्याको समाधान खोज्नुपर्ने माग गरिरहेका छन् । जेन–जी समूह ‘कडा कदम’ को चेतावनीसहित आन्दोलित छन् भने कर्मचारीहरू ‘काम गर्ने वातावरण छैन’ भन्दै सेवा नै बन्द गर्न बाध्य भएका छन् । समाधान खोज्ने जिम्मा अब दुवै पक्षकै काँधमा रहेको स्थानीयको भनाई छ ।





















Discussion about this post