बेलौरी । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै बेलौरी नगरपालिकाका कर्मचारीहरूले हिजो कार्यालयमा सेवा प्रवाह ठप्प पारेका थिए । “काम गर्ने वातावरण नभएको” भन्दै विज्ञप्ति निकालेर सेवा बन्द गरेको नगर कर्मचारीहरू आज भने पुनः नियमित कामकाजमा फर्किएका छन् ।
नगर प्रवक्ता हर्कबहादुर भुलले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरूलाई तत्काल सेवा सुचारु गर्न अनुरोध गरेपछि कामकाज सामान्य अवस्थामा फर्किएको हो । उनले आन्दोलनरत पक्षलाई समेत सर्वपक्षीय बैठकमा बोलाएर छलफलमार्फत समाधान खोजिने बताए ।
भुलले भने, “सेवाग्राहीलाई थप समस्या नहोस् भन्ने दृष्टिकोणले कर्मचारीलाई सेवा पुनः सुरु गर्न आग्रह गरिएको हो । आन्दोलनलाई बार्ताबाट टुंग्याउने पक्षमा सबै सरोकारवालाको सहमति आवश्यक छ ।”
नगरपालिकामा पछिल्लो समय अनियमितता र भ्रष्टाचारविरुद्ध युवाहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । माग सम्बोधनको सट्टा कर्मचारीलाई समेत हातमा लिएर सेवा ठप्प पारिएको घटनापछि स्थानीयहरू आक्रोसित भएका थिए । तर आजदेखि सेवा प्रवाह सुचारु भएपछि सेवाग्राहीहरूलाई केही सहज भएको छ । सहमतिको बाटोबाट समस्या समाधानतर्फ मोडिने संकेत देखिएको छ ।





















Discussion about this post