कञ्चनपुर । १७ वर्ष लामो कारागार जीवन बिताएपछि नेकपा (माओवादी केन्द्र) कञ्चनपुरका नेता टेकराज जोशी ‘अनन्त’ शुक्रबार जेलमुक्त भएका छन्।
ज्यान उद्योग मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय पाएका जोशीले कामदारी सुविधासहित सम्पूर्ण सजाय पूरा गरेपछि कारागार प्रशासनले उनलाई मुक्त गरेको हो। कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीका अनुसार कारागार ऐन २०७९ को दफा ५४ अनुसार २ वर्ष ८ महिना १९ दिन कामदारी सुविधा पाई उनले कैद भुक्तान सम्पन्न गरेका हुन्।
कारागारमा बिताएको लामो समयपछि जोशीले आफूलाई विदाई गर्न आएका कैदीबन्दी, कर्मचारी, पूर्वकैदी, आफन्त, उद्योगी–व्यवसायी, साथीभाइ तथा पार्टीका कार्यकर्तामाझ भावुक हुँदै भने, “मैले अपराध नगरेरैपनि कैद भोग्नुपर्यो। कारागारले मलाई दुख र सिकाई दुवै दियो। अब बाँकी जीवन समाज सेवामा खर्चिन्छु।”
उनले कारागार जीवनले आफूलाई अझ परिपक्व बनाएको उल्लेख गर्दै अन्यायमा परेका कैदीहरूको पीडा नजिकबाट बुझेको बताए।
“मैले न्यूटल भएर बस्छु भने पनि समाजले मलाई त्यस्तो बस्न दिने छैन। समाजले जिम्मेवारी दिन्छ र म भाग्दिनँ,” उनले दृढतापूर्वक भने।
जेलमुक्त भएपछि समर्थक र शुभेच्छुकले नाराबाजीसहित र्याली निकालेर उनलाई दैजीघरसम्म पुर्याएका थिए। यो क्रममा अनन्तप्रति देखाइएको समर्थन र सद्भावले उनको राजनीतिक तथा सामाजिक यात्रामा नयाँ ऊर्जा थपेको छ।
लामो संघर्ष र कठिनाइका बीच पनि अडानमा अडिग नेता अनन्त अब समाजसेवाको बाटोमै सक्रिय हुने प्रतिबद्धतासहित पुनः जनतामाझ फर्किएका छन्।
























Discussion about this post