पश्चिमी सिमानाका गड्डाचौकी र बसपार्कमा ‘लैला’ र ‘सेरा’ परिचालन

डिल्लीराज पन्त/कञ्चनपुर कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कमा अब तालिमप्राप्त कुकुर ‘लैला’ र ‘सेरा’ को सहायतामा सुरक्षा चेकजाँच थालिएको छ।

आगामी चाडपर्वमा भारतबाट नेपाल भित्रिने यात्रुको भीड बढ्ने र सो क्रममा प्रतिबन्धित सामान ओसारपसार हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबारदेखि कुकुरमार्फत सुरक्षा सतर्कता सुरु गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर वोहराका अनुसार चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत नाकामा अतिरिक्त चेकजाँच कडाइसँगै कुकुर प्रयोग गरिएको हो। उनले भने, “भारतसँगको मुख्य नाका खुला भएकाले अपराधिक गतिविधि बढाउने खालका वस्तुहरू भित्रिन सक्ने सम्भावना हुन्छ। त्यसलाई रोक्न ‘लैला’ र ‘सेरा’ जस्ता तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।”

महेन्द्रनगर बसपार्क हुँदै सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला र पूर्वतर्फ जाने यात्रुको चाप चाडपर्वमा असाध्यै बढ्ने गर्दछ। यसबीचमा झोलामा वा लुकाइछिपाइ ल्याइएका प्रतिबन्धित वस्तु, हतियार, विष्फोटक पदार्थ वा लागुऔषधलाई तालिमप्राप्त कुकुरले सजिलै सूघेर पत्ता लगाउने भएकाले अवैधानिक क्रियाकलाप रोकथाममा सहयोग पुग्ने प्रहरीले जनाएको छ।

कैलालीको धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको कुकुर शाखाबाट ल्याइएका ‘लैला’ र ‘सेरा’ अहिले कञ्चनपुरमा परिचालनमा छन्। सो शाखामा हाल विभिन्न अपराध नियन्त्रणका लागि तालिमप्राप्त ६ वटा कुकुर रहेको समेत प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित