धनगढी । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नै निजी घरमा एयर कन्डिसनर (एसी) जडान गरेको खुलासा भएको छ ।
सुदूरपश्चिम प्रदेशले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ मार्फत जनप्रतिनिधिको सेवा–सुविधा निर्धारण गरेको भए पनि उक्त ऐनले निजी निवासमा सरकारी खर्चमा एसी जडान गर्न पाउने व्यवस्था गरेको छैन । त्यसका बाबजुद अध्यक्ष चौधरीले कैलारी गाउँपालिका–४ भितरियास्थित आफ्नै निवासमा तीनवटा एसी जडान गरेका थिए ।
गाउँपालिकाको खाताबाट खरिद गरिएका तीमध्ये ‘ग्री’ कम्पनीका एक टन क्षमताका दुईवटा र १.५ टन क्षमताको एकवटा एसी अध्यक्ष चौधरीको घरमा जडान गरिएको थियो ।
यो तथ्य त्यतिबेला मात्रै बाहिर आएको हो, जब जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले चौधरीको घरमा आगजनी गरे । त्यसपछि गाउँपालिकाले सरकारी सम्पत्तिको क्षतिको विवरण तयार पार्दा अध्यक्षको घरमा जडान गरिएका एसी, इन्भर्टर, ब्याट्री र पंखा जलेर नष्ट भएको उल्लेख गरिएको थियो ।
उक्त विवरण सार्वजनिक भएपछि चौधरीले सरकारी रकमबाट आफ्नै घरमा विद्युत उपकरण जडान गराएको पुष्टि भएको हो ।
स्थानीयले यसलाई जनप्रतिनिधिको मर्यादा र सार्वजनिक धनको दुरुपयोगको स्पष्ट उदाहरणका रूपमा लिएका छन् । उनीहरू भन्छन्, “जनताको पैसाबाट व्यक्तिगत सुविधा लिनु गैरजिम्मेवार र अनैतिक कार्य हो ।”
सरकारी ऐन र नियम विपरीत आफ्नै घरमा सरकारी खर्चमा सुविधा जडान गर्नु जनप्रतिनिधिको आचरणसँग असंगत रहेको भन्दै चौधरीको यस कदमले स्थानीय तहमा सुशासनमाथि प्रश्न उठाएको छ ।






















Discussion about this post