जनकपुर । देश बदल्ने सपना बोकेर आन्दोलनमा निस्किएका जेन–जी पुस्ताका छोरा संजित यादव आज जनकपुर फर्किए— काँधमा नेपालको झण्डा बोकेर, शरीरमा गोलीको दागसहित, तर मुटुमा अझ बलियो देशप्रेम लिएर।
जेन–जी आन्दोलनका क्रममा गोली लागी घाइते भएका यादव उपचारपछि गृहजिल्ला फर्किँदा जनकपुरका बासिन्दा, नातागोता र अभिभावकहरूले फूलमालाले स्वागत गरेका छन् । उनका आमाबुबाको आँखामा गर्वको चमक थियो, तर त्यो गर्वसँगै अघिल्लो महिनाको त्यो कालो साँझको पीडासमेत मिसिएको थियो । जब संजितले आफ्नै देशमा परिवर्तनको आवाज बुलन्द गर्दा गोली खाएको खबर आएको थियो ।
“म मेरो देश बदल्न चाहन्थेँ, जसले आमाबुबा र हाम्रा भविष्यका पुस्ता स्वतन्त्र र निष्पक्ष समाजमा बाँच्न पाउँछन्,“ संजितले काँधमा झण्डा समाउँदै भने, “गोली लाग्यो, तर मेरो सपना मरेको छैन ।“
जनताले समेत संजितलाई ‘देशको सच्चा सिपाही’ भन्दै स्वागत गरे । फूलमाला, अबिर र टल्कने झण्डाबीच जनकपुरको एक गाउँ हिजो आइतवार देशभक्तिको भावनाले रन्किएको थियो ।
जेन–जी आन्दोलनले र छोराले खाएको गोलीको हिसावले जनताले चाहे जस्तो राज्य सत्ता स्थापना होस् भन्ने लहर अझै थामिएको छैन । त्यो आन्दोलनले देखाएको एउटा सन्देश अझै गुञ्जिन्छः जनता उठे भने देश बदलिन्छ ।
संजितजस्ता घाइते युवाहरूको आजको घाउलाई भोलिको प्रेरणामा रूपान्तरण गर्न सुशिला कार्की नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भई प्रक्रिया अघि बढेको छ । यीनीहरुले देश बदल्ने जिम्मा लिएका छन् । जनताले चाहेको देश—न्यायपूर्ण, समानता र स्वतन्त्रताको—अब त्यही पुस्ताका काँधमा आशाको झण्डा बनेर फहराइरहेको छ ।






















Discussion about this post