टीकापुर । महान चाड दिपावली र छठ पर्व नजिकिँदै गर्दा टीकापुर नगरपालिकाले एक महत्वपूर्ण निर्णय लिएको छ । अब नगरभित्र प्लास्टिकका माला र पुष्प सामग्रीको बिक्री, वितरण र प्रयोग पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ ।
नगर कार्यपालिकाको १७औँ नगरसभाबाट पारित नीति अनुसार यो वर्षदेखि भारतबाट आयात हुने प्लास्टिकका फूलमालालाई रोक लगाई स्वदेशी उत्पादन फूलका माला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको छ ।
सूचना अनुसार, नगरभित्र रहेका सबै व्यापार–व्यावसायी र सर्वसाधारणले चाडपर्वका बेला प्लास्टिकजन्य मालाहरू विक्री, वितरण वा प्रयोग नगर्न/नगराउन नगरपालिकाले अनुरोध गरेको हो।
नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओड का अनुसार, “प्लास्टिकका माला र पुष्प सामग्रीले हाम्रो वातावरणमा दीर्घकालीन हानी पुर्याउँदै आएको छ। प्लास्टिक नजल्ने, नगल्ने पदार्थ भएकाले त्यसले माटो, पानी र वायुमण्डलमा प्रदूषण फैलाउँछ। त्यसैले यस वर्षदेखि हामीले स्वदेशी फूल खेतीलाई प्रोत्साहन र वातावरण संरक्षणको सन्देशसहित यो नीति कार्यान्वयन गरेका हौं।”
उक्त निर्णयले स्थानीय फूल उत्पादक किसानहरूमा उत्साह जगाएको छ। टीकापुरका कृषकहरूका अनुसार, “नगरले यस्तो निर्णय गरेपछि स्वदेशी फूल खेतीले बजार पाउने भएको छ। यसले स्थानीय रोजगारी र आम्दानीमा पनि सहयोग पुर्याउनेछ।”
नगरपालिकाले नागरिकलाई स्वच्छ वातावरण, हरियाली जीवन र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणमा सहकार्य गर्न आह्वान गरेको छ । चम्किला तर प्रदूषण फैलाउने प्लास्टिक माला होइन, अब गाउँ–सहरमा ताजा फुलको सुगन्ध नै खुशीको प्रतीक बन्ने टीकापुरवासीको चाहना छ।






















Discussion about this post