काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार अपराजित यात्रा कायमै राख्दै उपाधिको नजिक पुगेको छ ।
बुधबार भएको रोमाञ्चक खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो विजय यात्रा अझ सशक्त बनाएको हो ।
पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतकको बलमा २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको सम्मानजनक योगफल तयार गर्यो । भुर्तेलले ५१ बलमा ६ चौका र १ छक्कासहित ६९ रनको योगदान दिए । आसिफ शेखले २४ रन, गुल्शन झाले २ छक्कासहित १८ रन तथा आदिल आलमले १६ रन जोडे ।
जवाफी ब्याटिङमा ओमान २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमै सीमित भयो । ओमानका विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रनको योगदान दिए ।
नेपालका बलरहरू उत्कृष्ट प्रदर्शनमा देखिए । गुल्शन झाले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट हात पारे । नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट जोडे ।
ओमानका बलर नदीम खानले ४ विकेट लिए पनि नेपालको बलियो प्रदर्शन रोक्न सकेनन् ।
यस जितसँगै नेपालले ४ खेलमा ८ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका भए पनि उपाधिका लागि नेपालको दौड अझ बलियो बनेको छ ।
अब नेपाल उपाधि जित्न एक कदम टाढा मात्र छ । अपराजित नेपालको आत्मविश्वास अहिले शिखरमा छ।






















Discussion about this post