बेलडाँडी । बेलडाँडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ७५ प्रतिशत अनुदानमा च्याउको बीउ वितरण कार्यक्रम सञ्चालन गर्न सूचना जारी गरेको छ । उक्त सूचनामा इच्छुक कृषक समूहहरूले आवश्यक कागजातसहित आवेदन दर्ता गर्न १५ दिनको म्याद (मंसिर १३ गतेसम्म) तोकिएको छ ।
सूचनाअनुसार आवेदनका लागि कृषक समूहको दर्ता तथा नवीकरण प्रमाणपत्र, माग निर्णयको प्रतिलिपि र निवेदन अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । तर, यस सूचनाले किसानको वास्तविक अवस्थालाई नबुझेको किसानहरूले टिप्पणी गरेका छन् ।
स्थानीय किसानहरूको भनाइमा, “राज्यबाट अनुदान पाउनका लागि समूहमा हुनुपर्ने शर्तले धेरै विपन्न किसानहरू बीउ–बिजनजस्ता सहुलियत सेवाबाट वञ्चित भइरहेका छन्।” बेलडाँडीकै एक कृषकको भनाइमा, “हामी जस्ता किसान समूहमा छैनौं, त्यसैले अनुदानको सुविधा पाउँदैनौं, गाउँपालिकाले हामीलाई समूहमा समेट्ने प्रयास नै गरेको छैन।”
कृषि विकास शाखाले हालसम्म पालिकाभित्रका वास्तविक किसानको अद्यावधिक तथ्यांक तयार गर्न सकेको छैन । कुन वडामा कुन फसलका लागि भूमि उपयुक्त छ भन्ने अध्ययन र योजना समेत अभाव रहेको किसानहरूको गुनासो छ ।
“देश कृषिप्रधान भनिए पनि किसान अझै पनि मलखाद, बीउ–बिजन र सहयोगका लागि सिंहदरबार धाउन बाध्य छन्,” एक स्थानीय कृषकले बताए, “पालिकाको ध्यान जनतामुखी भन्दा पनि फाइलमै सीमित देखिन्छ।”
कृषि विज्ञहरूका अनुसार किसानलाई उत्पादनमुखी बनाउने दीर्घकालीन योजना, सहजीकरण र तथ्याङ्क आधारित कार्ययोजना अहिलेको आवश्यकता हो । कृषि शाखालाई किसानको वास्तविकता बुझ्न, समूह बाहिर रहेका कृषकलाई समेट्न र नीतिगत सुधारका कदम चाल्न सुझाव दिइएको छ ।























Discussion about this post