बेलडाँडी । खेलकुद विकासका नाममा गठन भएको बेलडाँडी गाउँ खेलकुद विकास समितिले अहिले स्थानीय स्तरमै ठूलो बहस र गुनासो उठाएको छ । कारण, समितिले उदयमान खेलाडीहरूको मनोबल बढाउनुको साटो घटाउने निर्णय गरेको भन्दै स्थानीय युवा खेलाडी र खेलप्रेमी असन्तुष्ट बनेका छन् ।
गत जेठ १५ गते समितिले भेट्रान पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र टिम दर्ता शुल्क मात्र ३ हजार रुपैयाँ तोकिएको थियो । भेट्रान खेलाडीका लागि गरिएको त्यो सम्मानजनक पुरस्कारले सबैको मन जितेको थियो ।
तर, अहिले समितिले आयोजना गरेको अध्यक्ष कप टी–२० क्रिकेट प्रतियोगितामा भने पूर्णतः विपरीत अवस्था देखिएको छ । उदयमान युवा खेलाडीहरूका लागि आयोजित प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १० हजार र टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । भेट्रान भलिवल प्रतियोगिताको द्वितीय पुरस्कार बराबरको रकम अहिलेको दुवै पुरस्कार जोड्दा पनि पुग्दैन, भन्ने स्थानीयको गुनासो छ ।
स्थानीय खेलप्रेमीहरूको भनाइमा, “समितिले उदयमान खेलाडीहरूलाई हौसला दिनुपर्ने ठाउँमा उल्टै हेपाह प्रवृत्ति देखाएको छ । भेट्रानहरूलाई सम्मान गर्नु राम्रो हो, तर नयाँ पुस्तालाई पनि समान सम्मान र प्रेरणा दिन जरुरी छ ।”
खेलकुद विकासका लागि खेलाडीलाई प्रबद्र्धन गर्ने उद्देश्यले पहिलो पटक लेदर बलले प्रतियोगिताको आयोजना गरिएको बेलडाँडी गाउँ खेलकुद बिकास समितिका अध्यक्ष डम्बर सुनारले जनाएका छन् । उनका अनुसार गाउँपालिका अन्तर वडाका ६ टिम बीच लिग आधारमा खेल सञ्चालन हुने छन् ।
खेलकुद विकास समिति भेट्रानमैत्री मात्र हो ? कि उदयमान खेलाडीमैत्री ? भन्ने प्रश्न युवाहरुको ओठओठमा भिजेको छ ।






















Discussion about this post