बेलडाँडी । कञ्चनपुरको बेलौरीमा सोमबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्ध पुरुषको दुःखद मृत्यु भएको छ।
बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट बेलौरी–३ बुटाबारीका ६५ वर्षीय श्रीप्रसाद आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार बिहान करिब ८ बजेतिर स्थानीय बासिन्दाले बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडकखण्डमा एउटा बेवारिसे साइकल देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको र खोजतलासका क्रममा उक्त सडकबाट करिब दुई सयदेखि दुई सय पचास मिटर टाढा सामुदायिक वनभित्र आचार्यको शव फेला परेको हो।
मृतकको छोरा निर्मल आचार्यले शवको सनाखत गर्नुभएको प्रहरीले जनाएको छ। घटनास्थलको अवस्था हेर्दा हात्तीको आक्रमणकै कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान कार्य अघि बढाएको बताएको छ भने घटनाका थप विवरण आउन बाँकी रहेको जनाएको छ।






















Discussion about this post