चौतर्फी दवावपछि आफ्नो अपरिपक्व निर्णयबाट पछि हट्यो बेलडाँडी खेलकुद, होनहार खेलाडी महरा सहित वडा नं.४ र ५ पुनः खेलमा फर्कियो

बेलडाँडी । चौतर्फी दबाब र आलोचनापछि अन्ततः बेलडाँडी खेलकुद विकास समितिले आफ्नो अपरिपक्व निर्णय सच्याएको छ । बेलडाँडीमा जारी अध्यक्ष कप टी–२० क्रिकेट प्रतियोगितालाई खेल भन्दा बढी विवादको रूपमा चित्रण गरिएको आलोचना बढेपछि समितिले पुनर्विचार गर्दै वडा नं.४ का खेलाडी खगेन्द्र महरा सहितको टिमलाई खेलमा फर्काएको हो ।

गत आइतबार समितिले वडा नं.४ का खगेन्द्र महराको नाममा वडा नं.३ बाट आएको कोरा निवेदनका भरमा वडा नं.४ को विजेता टिमलाई प्रतियोगिताबाट बाहिर गरेको थियो । सो निर्णयपछि सामाजिकसञ्जालदेखि स्थानीय खेलकुद वृत्तसम्म समितिको निर्णयको चौतर्फी विरोध भएको थियो ।

तर, वडा नं.४ ले मिति २०८२ असोज २७ गते चलानी नं.११३ मार्फत वडा कार्यालयको छाप र वडा अध्यक्षको हस्ताक्षरसहित खगेन्द्र महराको नाम विधिवत् रूपमा सिफारिस गरी पठाइसकेको थियो ।

आज बसेको बेलडाँडी खेलकुद विकास समितिको बैठकले खगेन्द्र महरा सहित वडा नं.४ को टिमलाई पुनः खेलमा फर्काउने निर्णय गरेको अध्यक्ष डम्मर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार खेलमैदानमा ढिला पुगेको कारण प्रतियोगिताबाट बाहिर पारिएको वडा नं.५ को टिमलाइ पनि खेलमा फर्काइएको छ ।

खगेन्द्र महरा सुदूरपश्चिमका होनहार युवा खेलाडी हुन् । हालै नेपालमै पहिलो पटक आयोजना हुन लागेको सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता  (नेपाल स्ट्रीट प्रिमियर लिग) (NSPL) मा खप्तड सुदूरपश्चिम टिमबाट उनी छनोट भएका छन् । कर्णाली, काठमाडौं र सुदूरपश्चिमबीच ५० हजार बीटसम्म पुगेको प्रतिस्पर्धामा गोलाप्रथा बाट महरा सुदूरपश्चिमको भाग बनेका थिए ।

बेलडाँडी गाउँपालिका वडा नं.४ निवासी महराले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकाले स्थानीयहरू उनीमाथिको अन्यायपूर्ण निर्णयले असन्तुष्ट भएका थिए । समितिले पुनर्विचार गरी कमजोरी सच्याएपछि स्थानीय खेलप्रेमीहरूले समितिको निर्णयको स्वागत गरेका छन् ।

बेलडाँडी खेलकुद विकास समितिले अन्ततः हचुवामा लिइएको निर्णय सच्याएर न्यायको जित र खेलको मर्यादा जोगाएको छ । खेलभोलि देखि नियमित हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित