बेलडाँडी। बेलडाँडी गाउँका युवा क्रिकेटर खगेन्द्रसिंह महराले सुदूरपश्चिम प्रदेशको प्रतिनिधि टिम खप्तड सुदूरपश्चिम थन्डरमा स्थान बनाउँदै सुदूरपश्चिमको क्रिकेटमा नयाँ उचाइ छोएका छन्।
आगामी कात्तिक १५ गतेदेखि काठमाडौंको मुलपानी मैदानमा सुरु हुने नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) मा महराले खप्तड टिमका तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। अक्सनमार्फत छनोट भएका महरा सुदूरपश्चिमकै १२ स्थानीय खेलाडीमध्ये एक हुन्। उनी अन्डर–१९ वर्गका बलर खेलाडीका रूपमा टोलीमा चयन भएका हुन्।
बाल्यकालदेखि बेलडाँडीकै धुलो–माटोमा टेनिस बल क्रिकेट खेल्दै आएका महरा अब राष्ट्रिय स्तरको मैदानमा आफ्नो प्रतिभा प्रदर्शन गर्न तयार छन्। टिमका मालिक अरुण प्रसाद भण्डारीका अनुसार, “हामीले सुदूरपश्चिमका खेलाडीलाई प्राथमिकता दिएका छौं। खगेन्द्रजस्ता उदीयमान युवाले अब आफ्नो खेल मुलपानीजस्तो ठुलो स्टेडियममा देखाउन पाउने अवसर पाएका छन्।” खगेन्द्र महराको यात्रा प्रेरणादायी छ।
उनी बेलडाँडी गाउँका सामान्य परिवारका छोरा हुन्। साथीहरूसँग टेनिस बल खेलेर सुरु भएको उनको खेल जीवन अहिले यू-१९ राष्ट्रिय अन्तरास्ट्रिय प्रतिनिधित्वमा पुगेको छ। नेपालमा अन्तर विश्वविद्यालय अन्तर्राष्ट्रिय प्रतियोगिता जय नेपाल कप, त्रिभुवन विश्वविद्यालयको टिमबाट, यू १९ सुदूरपश्चिम प्रदेशबाट र इनडोर सुपर लिग लगायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका महराले आफ्नो दृढता र परिश्रमको माध्यमबाट एनएसपिएलसम्मको यात्रा तय गरेका हुन्।
खप्तड सुदूरपश्चिम थन्डरले अक्सनमार्फत कुल ७ लाख ३५ हजार रुपैयाँमा खेलाडी खरिद गरेको छ। टिममा मार्की प्लेयर मेहबुब आलमदेखि अनुभव र युवाको मिश्रण रहेको छ। समिर लामा टिमका कोच, विक्रम बिष्ट म्यानेजर, र भरत बिक्रम शाह ब्रान्ड एम्बेसडर रहेका छन्।
एनएसपिएल प्रतियोगिता कात्तिक १५ देखि २५ गतेसम्म काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टिमले २१ लाख रुपैयाँ, र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ। सुदूरपश्चिमका समर्थक र बेलडाँडीका क्रिकेट प्रेमीहरू खगेन्द्रको प्रदर्शनप्रति उत्साहित छन्। स्थानीय युवाहरू भन्छन् “गल्लीको धुलोबाट उठेको हाम्रो खेलाडी अहिले राष्ट्रिय मञ्चमा पुग्न लागेका छन्, यो हामी सबैका लागि गर्वको कुरा हो।”























Discussion about this post