काठमाडौँ । जेन-जी आन्दोलनपछिको नयाँ राजनीतिक सन्देशका साथ प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । नयाँ पुस्ताको प्रतिनिधित्व र परिवर्तनको संकेत स्वरूप चार जना नयाँ मन्त्रीहरूलाई समावेश गर्दै उनले आफ्नो मन्त्रिपरिषद् सुदृढ गर्न लागेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले डा. सुधा गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठलाई पर्यटन, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिने तयारी गरेकी छिन् । बालुवाटार स्रोतका अनुसार चारै जनालाई आजै शपथ ग्रहण गराइनेछ ।
नयाँ मन्त्रीहरूमा अधिकांश युवा पुस्ताका अनुहार देखिनुले यो विस्तारलाई “जेन–जी आन्दोलनपछि सरकारको नयाँ प्रतिबद्धता”का रूपमा हेरिएको छ । कार्कीले आफू नेतृत्वमा भएको सरकार जनताको आकांक्षाअनुसार नयाँ सोच, नयाँ नेतृत्व र परिणाममुखी काममा केन्द्रित हुने बताउँदै आएकी छिन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, जेन-जी आन्दोलनले देशभर जागेको सदाचार, पारदर्शिता र नयाँ पुस्ताको आवाजलाई सरकारी संरचनामा समेट्ने कार्कीको प्रयास यस मन्त्रिपरिषद् विस्तारमार्फत झल्किएको छ ।
स्वास्थ्यदेखि रोजगार, पर्यटनदेखि खेलकुदसम्मका क्षेत्रमा नयाँ ऊर्जासहित नीति परिवर्तन हुने अपेक्षा गरिएको छ ।
यस विस्तारले मुलुकमा चलिरहेको सुधार अभियानलाई थप गति दिने विश्वास बालुवाटारले व्यक्त गरेको छ । जनताको आशा, युवाको आवेग र महिलाको नेतृत्व एकैसाथ प्रस्तुत गर्ने यो कदम, धेरैका नजरमा “जेन-जी युगको औपचारिक सुरुवात”का रूपमा व्याख्या भइरहेको छ ।






















Discussion about this post