बैतडी । बैतडी जिल्लाको मेलौली नगरपालिका-७ स्वाखानीमा बुधबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्लाको शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप बुधबार राति करिब ११ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो। गम्भीर घाइते पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा मेलौली–२ का ३४ वर्षका हरि पाण्डेय, २८ वर्षका ओम पाण्डेय, ६५ वर्षका डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षका चालक जनक बडू घाइते भएको प्रहरी निरीक्षक बडूले बताउनुभयो।
घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। जीपमा पाँच जना सवार रहेका थिए।
दुर्घटनामा परेका सबै जना बुधबार सम्पन्न शिवनाथ धाममा लागेको जात्रा हेरेर फर्किँदै गरेका यात्रु भएको पनि प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार जीप अनियन्त्रित भई करिब १० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।






















Discussion about this post