अपराधी समूहको पक्षपोषण गर्दै सरकार चलिरहेको स्पष्ट संकेत : कार्यबहाक अध्यक्ष अवस्थी

कञ्चनपुर । जेनजी आन्दोलनका नाममा अपराधी समूहहरूले गरेका विनाशकारी गतिविधिहरूको छानबिनका लागि गठित कथित आयोग अहिले देश दौडाहामा रहेको बेला नेकपा एमाले कञ्चनपुरका कार्यबहाक अध्यक्ष तथा उपाध्यक्ष जनकराज अवस्थीले सो आयोगको भूमिकाप्रति कडा आपत्ति जनाएका छन्।

कार्यबहाक अध्यक्ष अवस्थीका अनुसार, “घटनामा भएको क्षति तथा संलग्नहरूको तथ्य–तथ्याङ्क संकलनका नाममा सरकारका केही निकायहरूले पञ्चायतकालको झल्को दिने गरी सरकारी अड्डाका प्रमुखहरूलाई साक्षी राखेर नाटक मञ्चन गर्दैछन्, जसको कुनै अर्थ छैन,” भन्दै उनले कडा शब्दमा असन्तुष्टि व्यक्त गरे।

उनले कञ्चनपुर जिल्लामा भाद्र २४ गते अपराधी समूहहरूले जलाएका व्यक्तिगत घरका घरधनी तथा क्षति बेहोरेका राजनीतिक दलका प्रतिनिधिलाई जानकारी नै नगराई भिमदत्तनगरपालिकाको सभाहलमा आयोगका सदस्यको उपस्थितिमा गरिएको छलफललाई ‘पूर्ण नाटक’ का रूपमा चित्रित गरे।

“स्थानीय प्रशासनले पीडितहरूलाई खबर नै नगरी जसरी कार्यक्रम व्यवस्थापन गर्‍यो, त्यसले स्थानीयस्तरमा द्वन्द्व झन् बढाउने काम गरेको छ,” अवस्थीले भने। उनले अपराधी समूहका इसारामा सरकार सञ्चालन भइरहेको स्पष्ट प्रमाण देखिएको आरोप पनि लगाए।

अवस्थीका अनुसार, “देशभर आन्दोलनका नाममा घुसपैठ गरी अपराधी गतिविधि सञ्चालन गर्नेहरूलाई कठघरामा उभ्याइँदै छ, तर कञ्चनपुरमा भने गृह प्रशासनकै हवाला दिँदै संलग्न व्यक्तिलाई छानबिनको दायरामा नल्याउने प्रशासनको यो निरिहता घोर निन्दनीय छ।”

उनले निष्कर्षमा जोड्दै भने, “यसबाट स्पष्ट हुन्छ—सरकार स्वयं अपराधीहरूको इशारामा चलिरहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित