काठमाडौं । दीपेन्द्र सिंह ऐरी र करण केसीको दमदार ब्याटिङमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामाथि सशक्त प्रदर्शन गर्दै २७२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन जोड्यो। इन्निङको बीचमा विकेटको वर्षा भइरहँदा अन्त्यतिर दीपेन्द्र र करणले नेपालको पारी सम्हाल्दै प्रतिस्पर्धात्मक स्कोरसम्म पु¥याए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६७ बलमा २ चौका र ३ छक्काको साथ ७५ रनको दमदार अर्धशतकीय पारी खेले। त्यस्तै, अन्तिमतिर आक्रमक रूपमा खेलेका करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रन जोडे। उनीहरूको साझेदारीले नेपाललाई बलियो स्कोरसम्म पुर्यायो।
यसअघि ओपनर कुशल भुर्तेलले सन्तुलित सुरुवात दिलाउँदै ४७ रन बनाए भने भिम सार्कीले ३६ रनको योगदान गरे।
बलिङतर्फ अमेरिकाका हर्मीत सिंहले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। त्यसैगरी शौरव नेत्रभाल्कर र नेथ्सुज केन्जिले दुई–दुई विकेट लिएका थिए। जसदीप सिंह र शुभम रान्जेले एक–एक विकेट हात पारे।
२७२ रनको लक्ष्यसहित मैदान उत्रिँदै नेपाल अब जितका लागि बलिङमा पनि आक्रमक प्रदर्शन गर्ने तयारीमा छ। ऐरी र करणको लय निरन्तर रह्यो भने नेपालको विजय सुनिश्चित हुने अपेक्षा नेपाली क्रिकेटप्रेमीहरूले गरेका छन्।






















Discussion about this post