कञ्चनपुर । “मानव बेचबिखनविरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ कार्यरत शान्ति पुनर्स्थापना गृह (पि.आर.सी.) कञ्चनपुर शाखा कार्यालयले वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता शान्ता सापकोटाले गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथि बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना, भीमदत्त नगरपालिका उप प्रमुख नीलम लेखक जोशी, बेलौरीका उप प्रमुख जोगराम चौधरी, जिल्ला प्रहरी प्रमुख खड्गबहादुर खत्री, समाजसेवी, पत्रकार र विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बोहराले मानव बेचबिखन रोकथामका क्षेत्रमा पि.आर.सी.ले गरेको कार्यको उच्च प्रशंसा गर्दै भन्नुभयो, “मानव बेचबिखनजस्तो गम्भीर अपराध न्युनिकरणमा शान्ति पुनर्स्थापना गृहले गरेको योगदान अनुकरणीय छ। आगामी दिनमा पनि यस किसिमका प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ।”
उक्त कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले भने, “बेलडाँडी खुला सिमावर्ती क्षेत्र भएकाले मानव बेचबिखनको जोखिम सधैं रहन्छ। यस्ता जोखिमका बीच पनि पि.आर.सी.का प्रतिनिधिहरूले जुन समर्पणका साथ काम गरिरहेका छन्, त्यसको हामी खुलेरै प्रशंसा गर्छौं।”
भीमदत्त नगरपालिकाकी उप प्रमुख नीलम लेखक जोशीले मानव बेचबिखनको मूल कारण गरिबी र बेरोजगारी रहेको बताउँदै रोजगारीका प्रलोभनमा परेर धेरै युवतीहरू जोखिममा पर्ने उल्लेख गर्नुभयो। उहाँले सबै निकाय मिलेर सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।
यस्तै, बेलौरी नगरपालिकाका उप प्रमुख जोगराम चौधरीले सिमाक्षेत्रमा लैङ्गिक हिंसा र बेचबिखन न्यूनीकरणका लागि शान्ति पुनर्स्थापना गृहले उल्लेखनीय कार्य गर्दै आएको भन्दै जोखिम मोलेर काम गर्ने संस्थाका कर्मचारीहरूको आत्मबल र समर्पणको प्रशंसा गर्नुभयो।
संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यक्रम सभापति शान्ता सापकोटाले मानव सेवामा सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिए ।
उनले भने ” तपाईं सहभागीहरूले हाम्रो सहकर्मीहरूले गरेको कामको प्रशंसाले मन प्रफुल्ल भएको बताईन ।
शान्ति पुनर्स्थापना गृह सन् १९९४ (वि.सं. २०५० माघ ४ गते) मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एक गैरसरकारी संस्था हो। हाल यसको केन्द्रीय कार्यालय गोदावरी नगरपालिका–१२, ठेचो मा अवस्थित छ।
संस्थाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध करिब ३२ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ। नेपालका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र धनुषालगायत जिल्लाहरूमा शाखा र सम्पर्क कार्यालयमार्फत यसले सिमाक्षेत्रमा निगरानी, जनचेतनामूलक कार्यक्रम, उद्धार तथा पुनर्स्थापना कार्य गर्दै आएको छ।
संस्थाले पुनर्स्थापना र पारिवारिक पुनर्मिलन, क्षमता विकास र जनचेतनामूलक कार्यक्रम, यातायात तथा होटल व्यवसायीसँगको समन्वय र अन्तरदेशीय सहकार्य कार्यक्रमहरू समावेश छन्।
२०८१/८२ आर्थिक वर्षमा मात्र कञ्चनपुर शाखाले ४ हजार २५५ जना व्यक्तिलाई परामर्श सेवा प्रदान गरेको र २३६ जनाको उद्धार गरेको कार्य विवरण सार्वजनिक गरिएको छ।
कार्यक्रमको समापनमा सहभागी सरोकारवालाहरूले मानव बेचबिखन र लैङ्गिक हिंसा विरुद्ध सशक्त अभियान निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याउँदै, पि.आर.सी.लाई यस अभियानमा अझ प्रभावकारी बन्न शुभकामना व्यक्त गरेका थिए।






















Discussion about this post