कञ्चनपुर । तत्कालीन नेकपा (माओवादी) द्वारा राज्यविरुद्धको जनयुद्धको क्रममा मंसिर ८ गते गठन गरिएको जनमुक्ति सेनाको २४औं स्थापना दिवस यस वर्ष कञ्चनपुरका पूर्व जनमुक्ति सेनाहरुले मनाउने तयारी गरेका छन् ।
माओवादी जनयुद्धको अवधिमा जनमुक्ति सेनाले “बन्दुकको नालबाट वर्गीय मुक्ति र सामाजिक न्यायको स्थापना” गर्ने लक्ष्य बोकेको थियो । जनमुक्ति सेनाको स्थापना मानव मुक्ति, समानता, र दमनविरुद्धको आवाजका रूपमा गरिएको सम्झना कञ्चनपुरका पूर्व जनमुक्ति सेनाहरु गर्दै छन् ।
शान्ति प्रक्रियापछि जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गरिएको भए पनि, धेरै पूर्व लडाकुहरू अझै अधूरा सपना र अपूरा वाचा पूरा नभएको पीडामा छन् । उनीहरू भन्छन् “हामीले वर्गीय र सामाजिक मुक्ति ल्याउने आशामा जनयुद्ध लड्यौं, तर नेताहरूले सत्तासँग सम्झौता गर्दा त्यो सपना अधुरै रह्यो।”
यसै भावनासहित कञ्चनपुरका पूर्व जनमुक्ति सेनाहरूले यस वर्षको जनमुक्ति सेना दिवसलाई पुनः आत्ममूल्यांकन, सम्झना र पुनःसंकल्पको रूपमा मनाउने तयारी गरेका छन् । उनीहरूका अनुसार, यो दिवस लडाइँका स्मृति, घाइते, अपांग र युद्धमा जीवन गुमाएका सहकर्मीहरूको सम्झनासँगै अधूरा मुक्तिका सपना साकार पार्ने संकल्पका साथ मनाइनेछ ।
“हामीले नेताहरूको विलासी जीवनशैली देख्यौं, तर जनताको पीडा त्यहीँकै रह्यो,” एक पूर्व लडाकु भन्छन्, “त्यसैले हामी यो दिवसलाई आत्मसम्मान र जनमुक्तिको अधुरो अभियान सम्झँदै मनाउनेछौं।”
जनमुक्ति सेनाका पूर्व लडाकुहरू भन्छन्, संविधान र जनताको अधिकारमाथि भइरहेको हस्तक्षेप असह्य भएकोले, अब फेरि जनचेतनाको जग बलियो बनाउनुपर्ने आवश्यकता छ ।
२४औं जनमुक्ति सेना दिवसको अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिका ३ चोरपानी पिकनिक स्थलमा शुभकामना आदाप्रदान र विचार गोष्ठी आयोजना गरिने जनमुक्ति सेना दिवस तयारी समितिले जनाएको छ । आयोजकहरूले यो दिवसलाई इतिहासको पुनस्र्मरण र भविष्यको दिशानिर्देशनका रूपमा अर्थपूर्ण बनाउन सबै जनमुक्ति सेनालाई सहभागिताका लागि आह्वान समेत गरेका छन् ।






















Discussion about this post