माधव पौडेल/बेलौरी। बेलौरी नगरपालिका न्यायिक समितिको आयोजनामा “न्यायमा सहज पहुँच सुनिश्चित गर्न कानुनी शिक्षा तथा सचेतना कार्यक्रम” मंगलबार सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख जोगराम चौधरीले गर्नुभएको थियो। उहाँले स्थानीय तहमा न्यायिक समितिले उजुरीका पक्षहरूबीच सहमतिको आधारमा न्यायिक कार्यसम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै नागरिकलाई सहज र निःशुल्क न्याय उपलब्ध गराउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
उपप्रमुख चौधरीले भन्नुभयो, “नागरिकले कानुनी प्रक्रिया बुझ्ने हो भने न्यायमा पुग्न सजिलो हुन्छ। त्यसका लागि शिक्षा र सचेतना नै पहिलो माध्यम हो।”
कार्यक्रममा प्रशिक्षक अधिवक्ता आरती खड्काले नेपालको संविधान र कानुनमा सुनिश्चित महिला हक अधिकार, लैङ्गिक हिंसाका प्रकार, सम्बन्धित कानुनी प्रावधान, पीडित सहायता प्रक्रिया, ज्याला मजदुरी सम्बन्धी कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिनुभयो।
बेलौरी नगरपालिकाका १० वटै वडाबाट हिंसाबाट प्रभावित महिला–पुरुष, विपन्न तथा मजदुर वर्गका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूको प्रश्न–उत्तर सत्र समेत सम्पन्न गरिएको थियो।
कार्यक्रममा न्यायिक समितिका सदस्य शिवराज राना र आरती कुमारी चौधरी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझा, महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईं लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण न्यायिक समितिका उजुरी प्रशासक विनोद चौधरीले गर्नुभएको थियो।





















Discussion about this post