लालझाडीमा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न, दुई सय बढी पशुको उपचार

लालझाडी/कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकामा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, महेन्द्रनगरको आयोजनामा सञ्चालन गरिएको नि:शुल्क पशु स्वास्थ्य एकदिने शिविर मंगलबार सम्पन्न भएको छ।

शिविरको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले गर्नुभएको हो। लालझाडी गाउँपालिका-१, नौरङ्गामा आयोजित शिविरमा गाई, भैंसी, बाख्रा, कुखुरा र कुकुरलगायतका २१२ वटा पशुको उपचार गरिएको छ। साथै १७ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको भेटनरी अस्पतालका प्रमुख श्यामसिंह खड्काले जानकारी दिनुभयो।

शिविरमा पशु चिकित्सक डा. धिरज बोहराको नेतृत्वमा रहेको प्राविधिक टोलीले विभिन्न पशु रोगको परीक्षण र उपचार सेवा प्रदान गरेको थियो। स्थानीय किसानहरूले आफ्ना पशुमा देखिएका समस्या स्थलमै सुनाएपछि टोलीले प्रत्यक्ष उपचार र औषधि वितरण गरेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष निर्मल रानाले पशुपालनलाई आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधारका रूपमा अघि बढाइरहेको बताउँदै किसानको आम्दानी वृद्धि र दिगो विकासका लागि पशुपालन क्षेत्र सुदृढ बनाउने पालिकाको प्राथमिकता रहेको बताउनुभयो।

त्यसैगरी मन्त्री थापाले ग्रामीण क्षेत्रका अधिकांश परिवारको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको बताउँदै किसानलाई सहज र सुलभ सेवा दिन पशु स्वास्थ्य शिविरलाई नियमित रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो। उहाँले पशुमा देखिने रोग नियन्त्रण, स्वास्थ्य सेवा विस्तार र उत्पादन वृद्धिलाई सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेको समेत बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित