बेलडाँडी। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रमअन्तर्गत कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना र अल स्टार युवा क्लब, बेलडाँडी गाउँपालिकाको समन्वयमा जारी एन्फा यू–१४ छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका दुई खेल मंगलबार सम्पन्न भएका छन्।
पहिलो खेलमा सरस्वती माध्यमिक विद्यालय, झरनासागरले उत्कृष्ट प्रदर्शन गर्दै मोडर्न चाइल्ड केयर बोर्डिङ स्कुललाई ११–० को विशाल अन्तरले पराजित गरेको छ। यस जितसँगै सरस्वती विद्यालयले लगातार दोस्रो जित दर्ता गर्दै समूह तालिकाको शीर्ष स्थान मजबुत बनाएको छ।
दोस्रो खेलमा कञ्चन ग्यालेक्सी पब्लिक स्कुल र सिहपाल आधारभूत विद्यालय, बेलडाँडी–२बीचको प्रतिस्पर्धा २–२ गोलको बराबरीमा टुंगिएको छ। बराबरीसँगै दुवै टिमले समान एक–एक अंक बाँडेका छन्।
आयोजकका अनुसार भोलि (कात्तिक २७ गते) तीन खेलहरू हुनेछन्। बिहान १० बजे सरस्वती माध्यमिक विद्यालय झरनासागर र सिहपाल आधारभूत विद्यालयबीच पहिलो खेल हुनेछ। दिउँसो १ बजे कञ्चन ग्यालेक्सी पब्लिक स्कुल र बैजनाथ माध्यमिक विद्यालय, झिलमिलाबीच दोस्रो खेल, र अन्तिम खेल दिउँसो ३ बजे मोडर्न चाइल्ड केयर बोर्डिङ स्कुल र बेलडाँडी नवज्योति बोर्डिङ स्कुलबीच हुने कार्यक्रम छ।
प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका ६ वटा छात्र टिमहरूको सहभागिता रहेको छ। सरस्वती माध्यमिक विद्यालय झरनासागर ६ अंकसहित समूह तालिकाको अग्रस्थानमा रहेको आयोजक समितिले जनाएको छ।













Discussion about this post