पुनर्बास । बिश्व मधुमेह दिवसको अवसर पारेर कञ्चनपुरको पुनर्बास नगरपालिकाले सञ्चालन गरेको निःशुल्क सुगर जाँच तथा परामर्श कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय नागरिकले मधुमेह जोखिम मूल्यांकन, सुगर परीक्षण, स्वस्थ जीवनशैली सम्बन्धी परामर्श लगायतका सेवा पूर्ण रुपमा निःशुल्क प्राप्त गरे ।
जनस्वास्थ्य अधिकृत यज्ञ खड्काका अनुसार अभियानमार्फत झन्डै ६० जनाको सुगर जाँच तथा परामर्श गरिएको छ । पुनर्वास-३ स्थित ‘६५ बिघा’ खेल मैदानमा शुरु भएको कार्यक्रम पछि नगरपालिकाभित्रका कर्मचारीहरूको पनि सुगर जाँच गरिँदा सेवा प्रभावकारी बनेको स्वास्थ्य संयोजक रामबहादुर धामीले बताए ।
कार्यक्रममा नगरप्रमुख तोयप्रसाद शर्मा र उप-प्रमुख भुलिया कुमारी रानाले समेत सुगर परीक्षण गराएका थिए । जाँचका क्रममा केही नागरिकमा नयाँ मधुमेहका बिरामी पहिचान हुनुले यस्ता कार्यक्रम आवश्यक र समयानुकूल रहेको थप पुष्टि गरेको छ ।
नगरप्रमुख शर्माले पुनर्बासलाई ‘सशक्त र स्वस्थ समुदाय’ बनाउने उद्देश्य अनुरूप यस्ता जनस्वास्थ्य अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकाका उप-प्रमुख रानाले नसर्ने रोगको जोखिम बढ्दो अवस्थामा भएकाले स्वास्थ्य शाखालाई अग्रिम जाँच र जनचेतनामूलक कार्यक्रमलाई शीर्ष प्राथमिकतामा राख्न निर्देशन दिइन् ।
कार्यक्रममा मधुमेह परीक्षणका सबै सामग्रीहरू तथा प्रविधि व्यवस्थापन त्रिभुवन स्वास्थ्य चौकीका प्रयोगशाला इन्चार्ज जनक धामीको नेतृत्वमा गरिएको थियो ।
पुनर्बास नगरपालिकाद्वारा सञ्चालन गरिएको यो अभियानले स्थानीय नागरिकलाई समयमै जोखिम पहिचान गर्ने अवसर प्रदान मात्र गरेन, गाउँ-नगर तहमै सरल स्वास्थ्य सेवाको पहुँच कसरी विस्तार गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि पेश गरेको छ । यस्ता प्रभावकारी र नागरिक-मुखी स्वास्थ्य कार्यक्रम अन्य पालिकाहरूका लागि पनि अनुसरणयोग्य मोडेल भएर उभिएको छ ।


















Discussion about this post