दैलेख । भैरवी गाउँपालिकाले बजेट अभावका कारण गाउँपालिकाको अनुदानबाट तलब-भत्ता पाउँदै आएका करार शिक्षक तथा विद्यालय कर्मचारीलाई आगामी दिनमा हाजिर नगर्न निर्देशन दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ८० लाख रुपैयाँ श्रावणदेखि कार्तिक महिनासम्मको तलब-भत्ता र चाडपर्व खर्चमै सकिन जाने भएकाले २०८२ मंसिर १ गतेदेखि अनुदानबाट तलब खाने कर्मचारीलाई विद्यालयमा उपस्थित नगराउन अनुरोध गरिएको छ।
यसमा करार नियुक्त शिक्षक, विद्यालयका थप तलब-भत्ता खाने कर्मचारी, लेखा सहायक तथा बाल विकास सहयोगी कार्यकर्ता सबै समावेश छन्। स्रोत सुनिश्चितता नभएकाले अनुदानबाट तलब-भत्ता खुवाउन नसकिने र यस्तो अवस्थामा हाजिर गराइएमा त्यसबाट सिर्जित आर्थिक दायित्व गाउँपालिकाले व्यहोर्न नसक्ने सूचनामा स्पष्ट गरिएको छ। सूचनाको प्रतिलिपि आर्थिक प्रशासन शाखालाई समेत पठाइएको भैरवी गाउँपालिकाले जनाएको छ।





















Discussion about this post