सुर्खेत । गएराति भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि वीरेन्द्रनगरका विभिन्न क्षेत्र तनावग्रस्त बनेका छन् । घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनका आफन्त तथा स्थानीयहरूले मुलपानी चोक, एरिचोकलगायत स्थानहरूमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । प्रदर्शनका कारण सवारी आवागमन समेत प्रभावित भएको छ ।
वीरेन्द्रनगर नगरपालिका-२ स्थित वडा कार्यालय अगाडि मुलपानीबाट भुरेली जाँदै गरेको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल (चालक २३ वर्षीय यामबहादुर शाही) र पत्रकार आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक शाहीको पनि टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर मध्यम अवस्थामा उपचार भइरहेको छ ।
यसबीच, मृतकका आफन्तले प्रहरीले घटनास्थलबाट प्रमाण मेटाउने काम गरेको तथा मुचुल्का नउठाई पानी हालेको आरोप लगाएका छन् । यिनै आरोपका बीच आवश्यक र निष्पक्ष अनुसन्धानको माग गर्दै शनिबार बिहानैदेखि आन्दोलन थप चर्किएको हो ।
तर जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले भने आरोप अस्वीकार गरेका छन् । उनका अनुसार, “दुर्घटनास्थलबाट घाइते आचार्यलाई तत्काल अस्पताल पु¥याइ मानवीय धर्म निभाउँदा उल्टै प्रहरीमाथि आरोप लगाइएको हो,” उनले भने ।
मृतक आचार्य रेडियो तिला आवाज, कालिकोटका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष समेत रहेका अनुभवी सञ्चारकर्मी थिए । उनी केही समययता वीरेन्द्रनगरमै बसोबास गर्दै आएका थिए ।













Discussion about this post