बिकाश सिंह महता/कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा शनिबार सम्पन्न एकदिने निःशुल्क आँखा शिविरमा कुल ६ सय ७८ जनाले सेवा प्राप्त गरेका छन्। गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरका कारण स्थानीयवासी उत्साहित बनेका छन्।
रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको शिविरमा ४१० महिला र २६८ पुरुषले आँखा परीक्षण तथा उपचार सेवा लिएका हुन्। सेवा प्राप्तकर्तामध्ये १०४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गेटा आँखा अस्पतालमा हुने भएको छ। त्यस्तै, ७ जनामा आँखामा मासु पलाएको समस्या पहिचान गरिएको छ।
शिविर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो। बाह्य कार्यक्रम संयोजक रमेशचन्द्र भट्ट, वरिष्ठ नेत्र अधिकृत बीर सिंह धामी, चिकित्सकहरू तथा ११ जना स्वास्थ्यकर्मीको सक्रिय सहभागितामा सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँमै विशेषज्ञ सेवा पाइएकाले स्थानीयवासी खुशी भएका छन्। पालिकाले आगामी दिनमा पनि यस किसिमका स्वास्थ्यमूलक कार्यक्रम निरन्तर अघि बढाइने जनाएको छ।























Discussion about this post