बेलडाँडी । दुई वर्षअघि २ बोरा मल बाहिर दिएको भन्दै साना किसान महिला सहकारीमाथि कठोर कारबाही अघि बढाउने मलखाद व्यवस्थापन समितिका संयोजक शान्ति नाथ अहिले भने ५५ बोरा मलसहित समातिएको ठूलो प्रकरणमा निष्क्रिय रहेको स्थानीयले आरोप लगाएका छन्।
बेलडाँडीका किसानका नाममा इन्ट्री गरी कैलालीको भजनीतर्फ लैजाँदै गरिएको ५५ बोरा मल गत बिहीबार राति स्थानीयको सतर्कतामा नियंत्रणमा परेको थियो। वडा नं. ५ को इमलिया नजिक शंका लागेपछि स्थानीयले दिएको सूचनामा पुगेको प्रहरीले मलसहितको ट्रली नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखेको थियो। तर, मल समातिएको तीन दिन बितिसक्दा पनि समिति कुनै निष्कर्षमा पुग्न सकेको छैन्। ट्रली तीन दिनदेखि इप्रकामा थन्किएको छ।
सहकारीको बयानमै फरक-फरक तथ्य
बेलडाँडी गाउँपालिका वडा नं. ४ स्थित कामना बचत ऋण सहकारी र बागेश्वरी सहकारीबाट क्रमशः ३०/२५ बोरा मल बाहिर पठाइएकाे बताइए पनि पछिल्ला दिनमा नै तथ्य उल्टो-पाल्टो भइसकेको स्थानीय बताउँछन्। कामना सहकारीका सचिवले २५ बोरा आफ्नो सहकारीबाट र बागेश्वरीबाट ३० बोरा भएको दाबी गरेका छन् भने बागेश्वरीका अध्यक्षले मल समातिएकै दिन २५ बोरा मात्रै आफ्नो सहकारीबाट गएको जनाएका थिए । फरक-फरक बयानले घटना अझै धेरै गम्भीर र शंकास्पद देखिएको स्थानीयको टिप्पणी छ।
२ बोरा मलमा कडा कारबाही गर्ने समिति ५५ बोरामा किन मौन ?
दुई वर्षअघि साना किसान महिला सहकारीबाट बेलडाँडीकै किसानले आफ्नो नाममा इन्ट्री गरेर बेदकोटका दुई जना किसानलाई २/३ बोरा मल दिएको आरोपमा समितिले तत्काल उक्त सहकारीको वितरण अधिकार नै खोसिदिएको थियो।
तर अहिले ५५ बोरा मल बाहिर लैजाने ठूलो प्रकरण खुलासा हुँदा समितिको नेतृत्व चुपचाप बसेको स्थानीयको भनाइ छ।
समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष शान्ति नाथले ट्रली प्रहरीकै अगाडि थन्किएको देख्दादेख्दै पनि तीन दिनमा कुनै कदम नचालेको भन्दै स्थानीय आक्रोशित छन्।
मल अभाव चर्कँदै गएको बेलडाँडीमा यति ठूलो मात्रामा मल बाहिर निकालिएको घटनाले स्थानीय शासन, अनुगमन संयन्त्र र समितिको निष्पक्षता-क्षमता सबैलाई प्रश्नगत बनाएको छ।
अघिल्लो केसमा २ बोरा मलका आधारमा सहकारीलाई वितरण अधिकार खोसिएको सम्झँदै स्थानीय भन्छन्, “त्यतिबेलाको जस्तो नै कारबाही अब पनि हुन्छ कि ? कि तपाईको पाटी निकट सहकारी भएकाले छुट दिन खोजिएको हो ?” २ बोरामा कडाइ देखाउने समिति ५५ बोरामा मौन रह्यो भने यसको अर्थ स्पष्ट हुन्छ, पद र शक्तिको दुरुपयोग ।
५५ बोरा मल बाहिर जाँदै गर्दा समातिएको यो प्रकरणले गाउँपालिकाभित्रै ठूलो तरंग ल्याएको छ। अब समितिले कस्तो कारबाही गर्छ वा मामिला अल्झाएर बिताइन्छ, यही प्रश्न गाउँभरि चर्किएको छ।























Discussion about this post