कञ्चनपुर । बेलौरीको खुला मञ्चमा जारी वडा-स्तरीय मेयर कप फुटबल प्रतियोगितामा खेल भइरहेकै अवस्थामा खेलाडीमाथि भएको सांघातिक आक्रमणप्रति कञ्चनपुर जिल्ला फुटबल संघले कडा आपत्ति जनाएको छ।
संघका अध्यक्ष गणेश बहादुर चन्दले आज एक भिडियो वक्तव्य जारी गर्दै राष्ट्रका होनहार खेलाडी करन पालमाथि खेलमैदानमै भएको निर्मम कुटपिटको घोर भत्सना गर्दै घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।
अध्यक्ष चन्दले फुटबलको नाममा कसैलाई जानकारी नदिई, जिल्ला फुटबल संघसँग समन्वय नगरी मनपरी ढंगले प्रतियोगिता आयोजना गरिएको तथ्यलाई चिन्ता जनाउँदै भने “यस्ता प्रतियोगिताको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्छ। सुरक्षाको प्रत्याभूति गराउन नसक्नेले खेल आयोजना गर्ने हैसियत राख्दैन।”
१५ गतेदेखि बेलौरी नगर खेलकुद समितिद्वारा सञ्चालन भइरहेको मेयर कपमा बिहीबारको पहिलो सेमीफाइनल खेलका क्रममा वडा नं. १० र वडा नं. १ बीच दोस्रो हाफतिर ‘हेण्ड बल’ को विवादपछि समर्थकसहित खेलाडीमैदान छिरेर करन पालमाथि सामूहिक कुटपिट गरेका थिए।
घटनामा पालको आँखा र नाकको हड्डी भाँचि गम्भीर चोट लागेको छ र उनलाई माया मेट्रो अस्पतालमा उपचाररत राखिएको छ।
पीडित पक्षले आज इलाका प्रहरी कार्यालय बेलौरीमा सांघातिक आक्रमणमा संलग्नविरुद्ध जाहेरी दर्ता गराएका छन्। दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग बढेको छ। घटना पछि बेलौरी खेलकुद समितिमाथि चौतर्फी आलोचना चर्किएको छ।
जिल्ला फुटबल संघसँग कुनै समन्वय नगरी प्रतियोगिता आयोजना गर्नु, सुरक्षा व्यवस्थापनमा लापरबाही देखिनु र घटना पछि आयोजक समितिको गैरजिम्मेवार ढंगले व्यवहार देखिनुले प्रकरण झन् गम्भीर बनेको छ। सोही कारण आज हुने भनिएको फाइनल खेलबारे आयोजक स्वयं अनिश्चित अवस्थामा पुगेका छ ।























Discussion about this post