कञ्चनपुर । बेलौरी नगर खेलकुद समिति द्धारा आयोजित ‘वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता’ अन्तर्गत जारी सेमिफाइनल खेलका क्रममा भएको दुुःखद घटनाले खेलकुद क्षेत्र नै स्तब्ध बनेको छ । वडा नं. १० र वडा नं. १ बीचको सेमिफाइनल खेल चलिरहँदा पहिलो हाफमै फुटबलर करन पालमाथि भएको सांघातिक आक्रमणप्रति फुटबलर, खेलप्रेमी तथा नागरिकले गम्भीर ध्यानाकर्षण गराएका छन् ।
खेलमैदानमै देखिएको हिंसात्मक व्यवहारमाथि खेल समुदायले कडा शब्दमा आपत्ति जनाउँदै दोषी पहिचान गरी तत्काल कडा कारबाही गर्न माग गरेका छन् । खेलकुदमै अनुशासनभंग र हिंसा फैलिनु चिन्ताजनक भएको उनीहरूको भनाइ छ ।
यही घटनालाई लिएर बेलौरी नगरपालिका १० का युवाहरुले आक्रोश व्यक्त गर्दै खेलाडीको सुरक्षामा गम्भीर कमजोरी देखिएको उल्लेख गरेको छ । मेयर कप जस्तो सम्मानित प्रतियोगितामा यस्ता घटनाले खेल क्षेत्रमा खराब संदेश जाने भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन उनीहरुले जोड दिएका छन् ।
उक्त घटनाप्रति न्यायिक हस्तक्षेप आवश्यक भन्दै खेलकुदकर्मी, फुटबलर तथा खेलप्रेमीहरूले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लक्ष्मण ढकाललाई ज्ञापनपत्र बुझाउँदै करन पाललाई न्याय दिलाउन, खेलमा अनुशासन सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटनामा शून्य सहनशीलता अपनाउन आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझ्ने क्रममा प्रजिअ ढकालले घटना गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै दोषी पहिचान र कारवाही प्रक्रियामा प्रशासन गम्भीर रूपमा लाग्ने आश्वासन दिएका छन् ।
स्थानीयस्तरमा प्रतिष्ठित बन्न थालेको मेयर कप प्रतियोगिता नै खेलाडीमाथिको आक्रमणले विवादमा तानिनुले खेल समुदाय चिन्तित बनेको छ । खेलप्रेमीहरू भन्छन्छन्, “खेलमैदान प्रतिस्पर्धाको हो, प्रतिशोध र हिंसाको होइन ।”
करन पालको स्वास्थ्य अवस्था सामान्य सुधारतर्फ रहेको बताइए पनि, घटनाले खेलाडीको मनोबलमा ठूलो असर पारेको जनाइएको छ । यस घटनापछिको निर्णय र कारवाहीले आगामी खेलहरूमा सुरक्षाको स्तर कति मजबुत छ भन्ने निर्धारण गर्ने खेलकर्मीको टिप्पणी छ ।























Discussion about this post