बेलडाँडीमा विकासको अर्को पाइला, चवन्नी-गौडी सडक निर्माण सुरु

बेलडाँडी । बेलडाँडीमा रिङ रोड निर्माणको कार्यले थप गति लिएको छ। चवन्नी बजारदेखि गौडी हुँदै वडा नं. ५, ४, ३ हुँदै वडा नं. १ जोड्ने सडक खण्डको आज चवन्नी बजारमा औपचारिक रूपमा शिलान्यास गरिएको हो।

यसअघि चवन्नी बजारदेखि कान्छी बजार जोड्ने करिब ५ करोड लागत अनुमान गरिएको सडक निर्माण धमाधम अघि बढिरहेका बेला रिङ रोडकै अर्को खण्डको समेत काम सुरु भएको छ। स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले चरणबद्ध रूपमा सडक सञ्जाल विस्तार गरिरहेको छ।

शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले विकास निर्माणमा गुणस्तर र पारदर्शितालाई मुख्य आधार बनाइने स्पष्ट पारे। “सडक केवल आवागमनको साधन मात्र होइन, समृद्धिको मेरुदण्ड हो। जनताको करबाट बन्ने संरचना भएकाले कुनै सम्झौता नगरी गुणस्तरीय काम गर्न म ठेकेदार पक्षलाई कडाइका साथ निर्देशन दिन्छु। समयमै काम सम्पन्न गरेर जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी अघि बढ्नुपर्छ।”

चवन्नीदेखि गौडी हुँदै वडा नं. ५, ४, ३ हुँदै वडा नं. १ जोड्ने यस सडकको अनुमानित लागत २ करोड १७ लाख रुपैयाँ रहेको छ। ठेक्का घटाघटी प्रक्रियाअनुसार धनगढी–८ स्थित मोहन कन्स्ट्रक्सन एण्ड कन्सर्न र रिद्धिसिद्धी ट्रेडर्स एण्ड सप्लायर्ससँग १ करोड ५६ लाख ८९ हजार ९०७ रुपैयाँमा सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।

निर्माण कम्पनी र बेलडाँडी गाउँपालिकाबीच मंसिर २२ गते २०८२ मा सम्झौता भई २०८३ जेठ १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष रानासहित प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बिक, सम्बन्धित वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। स्थानीयले रिङ रोड निर्माणले आवागमन सहज भई बजार विकास र आर्थिक गतिविधि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित