भुवा पर्वको अवसरमा सुदूरपश्चिमभर भोलि ४ गते शुक्रवार सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसर पारेर पुस ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको राजपत्रमा प्रकाशित निर्णयअनुसार प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा उक्त दिन बिदा रहनेछ।

पहाडी जिल्लाका मौलिक संस्कृतिसँग जोडिएको भुवा पर्व बाजुरा, बझाङलगायत पहाडी जिल्लामा विशेष महत्वका साथ मनाइन्छ। ती जिल्लाबाट बसाइँ सरेर तराई झरेका समुदायले कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा पनि यस पर्वलाई निरन्तरता दिँदै आएका छन्।

पुस महिनाको औँसीबाट सुरु हुने भुवा पर्वको आरम्भ पिठोको टीका लगाएर गरिने भएकाले यसलाई ‘पिठाया’ भन्ने चलन छ। यस अवसरमा विभिन्न गाउँ–गाउँमा पुगेर पिठाया लगाउने र भुवा नाच प्रस्तुत गर्ने परम्परा रहँदै आएको छ।

धार्मिक तथा ऐतिहासिक विश्वासअनुसार द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि तरबार र ढाल नचाउँदै निकालिएको विजय जुलुसको सम्झनामा भुवा खेल खेल्ने चलन सुरु भएको मानिन्छ। भुवो नाच र खेलले वीरता, एकता र सांस्कृतिक पहिचानलाई उजागर गर्ने विश्वास गरिन्छ।

यसैबीच, बाजुरेली सेवा समाजले भुवा पर्वको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने उद्देश्यसहित धनगढीमा भुवा पर्व महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा भुवा नाच, सांस्कृतिक प्रस्तुति तथा विविध कार्यक्रम रहने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित