हुकुम्बासी अतिक्रमणका कारण ओझेलमा बेलडाँडीको खेलकुद विकास, खेलाडी अन्यायमा

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अहिलेसम्म आफ्नै खेलमैदान नहुँदा खेलकुद गतिविधि प्रभावित हुँदै आएका छन् । राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताजस्ता महत्वपूर्ण खेलसमेत विद्यालयसँग मैदान मागेर सञ्चालन गर्नुपर्ने बाध्यताले बेलडाँडीको खेल भविष्य गम्भीर मोडमा पुगेको छ ।

गाउँपालिकाले खेलमैदान निर्माणका लागि पहिचान गरेको सार्वजनिक सरकारी जमिन हुकुम्बासीको कब्जामा परेपछि समस्या झन् जटिल बन्दै गएको हो । दशैँ-तिहारमा हुने फुटबल, क्रिकेटलगायतका प्रतियोगिता विद्यालयमै खेलाउँदा बल किसानको खेतबारीमा पुगेर वर्षेनी मेहनतले फलाएको बाली नष्ट हुने गरेको भन्दै विद्यालय आसपासका किसानहरूले दुखेसो पोख्दै आएका छन् ।

यसै विषयलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गत बर्ष जिल्लाका सबै नगरपालिका र गाउँपालिकालाई सार्वजनिक सरकारी जग्गा अतिक्रमण हटाउन पत्राचार गरेको थियो । पत्रमा वर्षायामका कारण केही काम प्रभावित भए पनि अब नियमित रूपमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिन र आवश्यक परे सुरक्षाका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गरिएको थियो । सोही सन्दर्भमा जिल्ला प्रहरी कार्यालयलाई समेत बोधार्थ पठाइएको थियो ।

यसै आधारमा बेलडाँडी गाउँपालिकाले युवाहरू कुलत र नकारात्मक गतिविधितर्फ नफसून् भन्ने उद्देश्यले विशाल खेलमैदानको अवधारणा अघि सारेको हो । गाउँपालिकाले वडा नं. २ अन्तर्गत गौडीस्थित पूर्व नहर, पश्चिम खोला, उत्तर साविक बाटो र दक्षिण सामुदायिक वन तथा साविक जंगलले घेरिएको सार्वजनिक जमिनमा खेलमैदान निर्माण गर्ने निर्णय गाउँ कार्यपालिकाबाट गरेको थियो ।

उक्त क्षेत्रमा रहेका घर–टहरा हटाउन मिति २०८१/०६/०६ मा ३५ दिने र मिति २०८१/०७/११ मा १५ दिने र २०८१/०७/२६ गते ७ दिने सार्वजनिक सूचना जारी गरिए पनि हालसम्म अतिक्रमण नहट्दा निर्माण कार्य अघि बढ्न सकेको छैन । वास्तविक सुकुम्बासीको व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिने स्पष्ट प्रतिबद्धता जनाउँदा पनि केही हुकुम्बासी र विकासविरोधी गतिविधिका कारण खेलमैदान निर्माण अवरुद्ध भएको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले पटक-पटक स्पष्ट रुपमा भन्दै आएका छ की, “त्यहाँ बसोबास गरिरहेका वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्ने जिम्मा पालिकाले लिन्छ । तर हुकुम्बासीको उस्काहटमा लागेर आफ्नो र बेलडाँडीका खेलाडीको भविष्यसँग खेलबाड नगरिदिनुस् ।” अध्यक्ष रानाका अनुसार खेलमैदान नहुँदा युवाहरू खेलकुदबाट विमुख भई गलत बाटो रोज्ने खतरा बढ्दै गएको जनाए ।

बेलडाँडी गाउँपालिकाले यही ग्रिन बेल्टभित्र गाउँपालिका कार्यालय, इलाका प्रहरी कार्यालय, आपतकालीन भवन, १५ शैयाको अस्पताल, सहकारी भवन, रेडक्रस, आँखा अस्पताल, विद्युत सब–स्टेशन, चिस्यान केन्द्र, दुग्ध चिस्यान केन्द्र, वडा कार्यालय, मठमन्दिरलगायतका आवश्यक संरचना निर्माण गरिसकेको छ । यति धेरै सार्वजनिक संरचना बन्न सक्ने ठाउँमा खेलमैदान किन नबन्ने भन्ने प्रश्न अहिले स्थानीयस्तरमा चर्को रूपमा उठ्न थालेको छ ।

बेलडाँडीका बुद्धिजीवी, खेलकुदप्रेमी र अभिभावकहरूले वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गर्दै खेलमैदानका लागि तोकिएको सार्वजनिक जमिन तत्काल खाली गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरू भन्छन्, “खेलमैदान केवल खाली जमिन होइन, यो बेलडाँडीका युवाको सपना, भविष्य र पहिचान हो ।”

यदि बेलडाँडीसँग आफ्नै खेलमैदान भएको भए आज राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताका लागि विद्यालय धाउनुपर्ने अवस्था आउने थिएन । अब पनि सबै सरोकारवालाले जिम्मेवारीबोध नगरे बेलडाँडीको खेल जगत थप पछाडि धकेलिने चिन्ता बढ्दै गएको छ । बेलडाँडीको उज्यालो खेल भविष्यका लागि सार्वजनिक जमिन खाली गरिदिनु आजको आवश्यकता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित