कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर अपराध नियन्त्रणका लागि आवधिक गृह कञ्चनपुरले सन् २०२५ जनवरी १ देखि डिसेम्बर २५ सम्म उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
आवधिक गृह कञ्चनपुरद्वारा सार्वजनिक गरिएको कार्यप्रगति प्रतिवेदनअनुसार सो अवधिमा सीमा क्षेत्रमा २०९ जनालाई रोकथाम तथा उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन् ।
सीमावर्ती नाकाहरूमा गरिएको निगरानीका क्रममा गड्डाचौकी नाकाबाट ८९, चार लाइन पुलबाट ३१, झोलुङ्गे पुलबाट २९ तथा जिल्ला प्रहरी कार्यालय तथा अन्य स्थानबाट ६४ जनालाई उद्धार गरिएको माइति नेपाल कञ्चनपुरले जनाएको छ ।
उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशका हुन् । जिल्लागत रूपमा कञ्चनपुरका १००, कैलाली ३२, बैतडी १४, बझाङ १० र डोटीका ८ जना रहेका छन् । कञ्चनपुरका उद्धार गरिएका व्यक्तिहरूमध्ये क्षेत्री ३४, दलित ३२, जनजाति २२ र ब्राह्मण १२ जना रहेका छन् ।
त्यस्तै, भारतका विभिन्न शहरबाट १० जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये ८ जना बालिका रहेका छन् भने दिल्ली, गाजियाबाद, हैदराबाद, मुम्बई, हरियाणा, चण्डिगढ, चमौली र बिहारजस्ता स्थानहरूबाट उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइएको हो ।
माइति नेपाल कञ्चनपुरमा १८९ वटा खोजतलासका निवेदन दर्ता भएका छन् । तीमध्ये ८१ जना भेटिएका छन् भने २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । यसै अवधिमा २१७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ ।
सिमानामा सवारी साधन चेकजाँच गर्दै १२ हजार ८५८ वटा सवारी साधनको निगरानी गरिएको छ भने ४४ हजार ५८१ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइँसराइबारे परामर्श प्रदान गरिएको छ । साथै, परामर्शपछि ३३ जनालाई सिधै घर फर्काइएको छ ।
प्रतिवेदनअनुसार घरेलु हिंसाका १० वटा निवेदन दर्ता भएका छन् । तीमध्ये ८ वटा समाधान गरिएका छन् । यसैगरी जबरजस्ती करणीसम्बन्धी ४ वटा मुद्दा र मानव बेचबिखनविरुद्ध १ वटा मुद्दा दर्ता भएको छ ।
मानव बेचबिखन नियन्त्रणमा खुला सीमा, अनलाइन प्लेटफर्मको दुरुपयोग, गरिबी, बेरोजगारी, सीपको कमी, नक्कली कागजात प्रयोग, सामाजिक कुरीति, बालविवाह तथा घरेलु हिंसा जस्ता कारण चुनौतीका रूपमा देखिएका छन् । साथै, पीडित तथा परिवारको उजुरी गर्न डर र मुद्दा प्रक्रियामा ढिलाइसमेत समस्या रहेको जनाइएको छ ।
मानव बेचबिखनबाट समुदायलाई जोगाउन घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, विद्यालयस्तरीय सचेतना कार्यक्रम सञ्चालन हुँदै आएका छन् । साथै, सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल, अन्तरक्रिया र समन्वयलाई निरन्तरता दिइएको छ ।
यातायातका साधनको प्रयोग अनिवार्य हुने भएकाले पछिल्लो समय यातायातकर्मीसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । उद्धार कार्य प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य पनि विस्तार गरिएको आवधिक गृह कञ्चनपुरले जनाएको छ ।
माइति नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले मानव बेचबिखनविरुद्धको अभियान अझ सशक्त बनाउँदै सीमावर्ती क्षेत्रमै निगरानी र समुदायस्तरको सचेतनालाई थप मजबुत बनाइने बताउनुभयो ।























Discussion about this post